मानसिक स्वास्थ्य सचेतनाका लागि तीन महिने राष्ट्रिय अभियान सुरु हुँदै

काठमाडौँ, २३ मंसिर । सरकारले मानसिक स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले तीन महिने राष्ट्रिय मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्ने भएको छ। ‘स्वस्थ मन, स्वस्थ जीवन’ नारासहित यो अभियान डिसेम्बर १० देखि मार्च १४ सम्म सञ्चालन गर्ने बताइएको छ ।

अभियानबारे जानकारी दिन मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले बढ्दो मानसिक समस्याका कारण आत्महत्या नियन्त्रणमा आउन नसकेको बताईन् । उनले यस अभियानले बदलिएको मानसिक स्वास्थ्यका बारेमा सचेतना जगाउने जानकारी दिईन् । बदलिदो जीवनशैली, प्रविधिको अत्यधिक प्रयोग तथा जेन्जी पुस्तामा देखिएको मानसिक समस्या अहिले टडकारो रुपमा देखिएको छ, जसलाई न्यूनीकरण गर्न अभियान आवश्यक रहेको छ, सरकारले सोही अभियानलाई अघि सारेको हो । उनले भनिन् ।

उनले अभियानको मुख्य उद्देश्य मानसिक स्वास्थ्यलाई लिएर विद्यमान भ्रम र संकुचन हटाउनु, समस्या खुलेर व्यक्त गर्न सक्ने वातावरण सिर्जना गर्नु तथा प्रारम्भिक चरणमै समस्या पहिचान र व्यवस्थापनमा सहयोग पुर्‍याउनु भएको बताईन् ।

स्वास्थ्य मन्त्री डा सुधा गौतम शर्माले बुधबार अभियानको प्रारम्भ गरेपछि विद्यालय नर्स, स्थानीय स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरू परिचालन गरी विद्यालयस्तरमै मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालका मनोचिकित्सक डा. केदार मरहट्ठाले मानसिक स्वास्थ्यको बारेमा प्रस्तुति दिदै त्यसबारेमा सचेतना बढाउनु पर्ने बताए । उनले मानसिक रुपमा स्वस्थ हुनु पर्दछ, त्यो भनेको दैनिक जीवनका समस्यालाई समाधान गर्न सक्ने क्षमता हुनु हो । त्यो हुन सकेन भने मानसिक समस्या हुन जान्छ । उनले अगाडी थपे समाजमा अझै पनि मानसिक स्वास्थ्यलाई संकुचित रूपमा बुझिने गरेको कारणले समस्या न्युनिकरण हुन नसकेको बताए ।

“मानसिक स्वास्थ्य केवल स्वास्थ्य क्षेत्रको जिम्मेवारी मात्र होइन, यो शिक्षा, परिवार, समुदाय र अन्य सबै क्षेत्रसँग सम्बन्धित विषय हो,” उनले भने। उनका अनुसार प्रत्येक १० जनामध्ये १ जनालाई कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिन्छ। साथै, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको सामान्य मानिसको तुलनामा १० देखि २० वर्ष अगावै मृत्यु हुने जोखिम उच्च हुने तथ्य उनले प्रस्तुत गरे।

कार्यक्रममा बोल्दै केन्द्रका जनस्वास्थ्य प्रशासक डा. उपेन्द्र ढुङ्गानाले मानसिक स्वास्थ्य सचेतनालाई समुदायस्तरसम्म विस्तार गर्न तीन महिने अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनका अनुसार अभियानका मुख्य लक्षित समूह किशोर–किशोरी तथा आम नागरिक रहनेछन्।

कार्यक्रममा मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिलाई सहयोग पुर्‍याउन राष्ट्रिय आत्महत्या नियन्त्रण कार्यक्रम अन्तर्गत ११६६ हेल्पलाइन सेवा सञ्चालनमा रहेको जानकारी दिईयो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *