औषधी क्षेत्रका विज्ञहरुको राय लिएर कार्यदललाई सुझाव बुझाउँदै ‘मियान’

काठमाडौँ, २२ मंसिर । सोमबार नेपाल औषधी आयातकर्ता संघ (मियान)को व्यानरमा बोल्ने बक्ताहरुको सूची हेर्दा नै सरकारद्धारा गठित उच्च स्तरीय कार्यदलले गर्ने काम मियानबाट भई रहेको जस्तो भान हुन्थ्यो ।
तर, मियान अध्यक्ष पवन आचार्यले विषय प्रवेश गराउँदा नै भनिहाले ‘हामीले दिने सुझाव हलुका नहोस्, अर्थपूर्ण होस् भन्ने हेतुले विज्ञहरुसंग परामर्श लिएका हौँ ।’
हुन पनि मियानले सुझावका लागि भन्दै आयोजित छलफलमा औषधी व्यवस्था विभागका पूर्व महानिर्देशकद्धय राधारमणप्रसाद साह, गजेन्द्रबहादुर भुजु, राष्ट्रिय औषधी प्रयोगशालाकी पूर्व निर्देशक भावा राजभण्डारीलाई बोलाएको थियो ।
यस्तै विभागका पूर्व बरिष्ठ फार्मासिष्ट शिवप्रसाद भट्टराई, औषधीविज्ञ राजनबहादुर रावत तथा नेपाल औषधी व्यवसायी महासंघका महासचिव श्रीधर खनाल लगायत पनि आमन्त्रित थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले गत २ मंसिरमा मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशरबहादुर ढकालको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकी थिईन् । उक्त कार्यदलमा उक्त कार्यदलमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली, औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा सङ्घरत्न बज्राचार्य, राष्ट्रिय औषधी प्रयोगशालाका निर्देशक भरत भट्टराई, स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखामा प्रमुख डा. पवनजंग रायमाझी, नेपाल फार्मेसी परिषद्का अध्यक्ष प्रज्वलजंग पाण्डे र औषधी व्यवस्था विभागका पूर्व महानिर्देशक बालकृष्ण खकुरेललाई सदस्य तोकिएको छ ।
उक्त कार्यदलको सदस्य सचिवको जिम्मेवारी मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्मालाई दिइएको छ ।
उक्त कार्यदलले एक महिना भित्र औषधी व्यवस्था विभाग र सो अन्तर्गतका निकायमा हुने काम कार्वाहीलाई चुस्त तथा व्यवस्थित गर्नका लागि संरचनागत सुधारका लागि प्रतिवेदन तयार गर्नु पर्नेछ ।
सोही अनुसार कार्यदलले प्रमुख सरोकारवाला संघ संस्था तथा व्यक्तिसंग औपचारिक रुपमा सुझाव मागेको छ ।
मियानका अध्यक्ष आचार्य भन्छन्, ‘आजको बैठक हामीले विज्ञहरुलाई साक्षी राखेर हाम्रा धारणा पनि सेयर गर्न खोजेका हौँ । ताकी हाम्रो सुझाव पनि बलियो बनोस र हामी आफै पनि यस विषयमा थप जानकार हुन पाउँ । भयो पनि यस्तै, आज धेरै राम्रा कुराहरु आएका छन् । हामीले यी सबै राम्रा कुराहरुलाई समेटेर कार्यदल समक्षा आफ्ना धारणा पठाउने छौँ ।’
कार्यदलले आफ्नो कार्यादेश भन्दै पाँच बुँदे विवरण मियानलाई पत्र साथ पठाएको थियो । सोही बुँदामा टेकेर आफूहरुले सुझाव तयार गर्न लागेको अध्यक्ष आचार्यले बताए ।
बैठकमा विज्ञहरुसंगै मियानका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

