एड्स महामारी अन्त्य गर्ने कार्यमा सबै एकजुट हुन स्वास्थ्यमन्त्री डा.गौतमको आग्रह

20
Shares

काठमाडौँ, १५ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतमले एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन आग्रह गरेकी छन् ।

मन्त्री डा.गौतमले ३८ औँ विश्व एड्स दिवसको अवसरमा आज भिडियो सन्देश जारी गर्दै एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन आग्रह गरेकी हुन् ।

मन्त्री डा. गौतमले एचआइभी रोकथाम, उपचार र हेरचाहमा संलग्न सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।

उनले भनिन्,“हाल विश्वव्यापी वितीय सङ्कट छ, भेदभाव छ यसका कारण एचआइभी प्रतिकार्यमा चुनौती कायमै रहेकोले सबै मिलेर परिवर्तनकारी दृष्टिकोणबाट अगाडि बढ्नु आवश्यक छ । जसले गर्दा रोकथाम, उपचार र हेरचाहमा सबैको पहुँच सुनिश्चित हुनेछ ।”

नेपालले विगत दुई दशकमा एचआइभी नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको छ। सन् २०१० को तुलनामा २०२४ सम्म आइपुग्दा नयाँ सङ्क्रमण दर ७६ प्रतिशत र एड्सका कारण मृत्युदर ७६ प्रतिशतले घटेको छ ।

एचआइभीको विश्वव्यापी मान्यता अनुसार नेपालले लिएको ९५–९५–९५ को लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता आवश्यक छ ।

हालसम्म नेपालले पहिलो ९५ मध्ये ९० प्रतिशत, दोस्रो ९५ प्रतिशत मध्ये ८८ प्रतिशत र तेस्रो ९५ मध्ये ७६ प्रतिशत लक्ष्य हासिल गरिसकेको छ ।
सरकारले सन् २०३० सम्ममा एचआइभी महामारी अन्त्य गर्न लक्ष्य लिएको छ ।

यस वर्षको विश्व एड्स दिवसको नारा ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने तय भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *