नेप्लीज सोसाइटी अफ ग्यास्ट्रोएन्टेरोलोजिष्ट्सको नेतृत्वमा आए प्राडा शशी शर्मा, बुधबारबाट कार्यभार सम्हाले

काठमाडौँ, ११ मंसिर । पेट रोग विशेषज्ञ चिकित्सकहरुको संगठन नेप्लीज सोसाइटी अफ ग्यास्ट्रोएन्टेरोलोजिष्ट्सको गत १७ साउनमा सम्पन्न निर्वाचनबाट प्राडा शशी शर्माको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति छनौट भएको थियो । छनौट भएको झण्डै चार महिना पछि बुधबार (हिजो) उक्त नव निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
सोसाइटीको नयाँ कार्यसमितिको अध्यक्षमा प्राडा शर्मा निर्वाचित हुँदा उपाध्यक्षमा प्राडा भुपेन्द्रकुमार बस्नेत निर्वाचित भएका छन् । यस्तै महासचिव पदमा डा राहुल पाठक, सहसचिवमा डा नन्दु सिलवाल पौडेल, कोषाध्यक्षमा डा विनोद कार्की र सह कोषाध्यक्षमा विवेककुमार पूर्वे निर्वाचित भएका छन् ।
एसोसिएसनको छ जना सदस्यहरुमा डा मोहन भुसाल, डा कुमुद भट्टराई, डा सन्दीपराज कुवर, डा दीपकराज पाण्डे, डा आध्याश्री कार्की र सञ्जीत कार्की रहेका छन् । नयाँ कार्यसमितिको कार्यावधी दुई वर्षको हुनेछ ।

गत साउनमा नयाँ कार्यसमिति छनौट भएपनि एक बृहत कार्यक्रम गरेर जिम्मेवारी हस्तान्तरण गर्ने योजनामा निर्वाचन समिति थियो । तर केही समय पछि देशमा विकसित भएको नयाँ राजनीतिक घटनाक्रमले तत्काल त्यस्तो बातावरण हुन सकेन । त्यसैले केही ढिलाई भएको त्यसबेला निर्वाचन गराएका प्रमुख निर्वाचन अधिकृत प्राडा सिताराम चौधरीले बताए ।
बुधबार प्राडा चौधरीसंगै त्यसबेला निर्वाचन अधिकृतको रुपमा काम गरेका प्राडा प्रदीपकुमार यादव र डा अजयकुमार गौतमले नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई नयाँ जिम्मेवारीको प्रमाणपत्र दिदै खाँदा लगाएर सम्मान गरेका थिए ।
निर्वाचन समितिले प्रमाणपत्र दिएपछि निवर्तमान अध्यक्ष प्राडा रमिला श्रेष्ठले नव निर्वाचित अध्यक्ष प्राडा शर्मालाई जिम्मेवारी हस्तान्तरण गरेकी थिईन् । त्यसअघि उनले सोसाइटीको ईतिहास र विभिन्न उतारचडावको प्रसंग बताएकी थिईन ।

हुन पनि यो सोसाइटी विसं २०५५ सालमा १० जना चिकित्सकहरु मिलेर खोलिएको हो । स्थापनाको २७ वर्षपछि अहिले आईपुग्दा यसको आजिवन सदस्य १६१ जना पुगेको नव निर्वाचित अध्यक्ष प्राडा शर्माले बताए । उनले नयाँ कार्यसमितिले विभिन्न एकेडेमिक संस्थासंग मिलेर एकेडेमिक कार्यक्रमहरु अघि बढाउन सहयोग गर्ने, सीएमईलाई निरन्तरता दिने साथसाथै स्वास्थ्य सचेतनाका लागि सञ्चारमाध्यमको सहयोगमा आम नागरिकसम्म पुग्ने योजना रहेको बताए ।
उपाध्यक्ष प्राडा बस्नेतले विभिन्न आरोह अवरोह पार गर्दै एसोसिएसन यहाँसम्म आएको भन्दै नयाँ कार्यसमितिले यसलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता जनाए ।
सहयोगका लागि सम्मान

यसैबीच एसोसिएसनको श्रीबृद्धिका लागि आर्थिक सहयोग गर्ने स्वर्गीय प्राडा आईएल आचार्यलाई मरणोपरान्त सम्मान गरिएको छ । आचार्यको परिवारले एसोसिएसनको अक्षयकोषमा १५ लाख बढी रकम सहयोग गरेको थियो ।
यस्तै कोषमा एक एक लाख रुपैयाँ सहयोग गरेका प्राडा महेश खकुरेल र ईश्वरलाल प्रतिष्ठानका तर्फबाट प्राडा अरुण मास्केलाई पनि सम्मान गरिएको थियो ।

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

