नेपाल चिकित्सक संघको निर्वाचन : डा. विश्वराज दवाडीद्धारा अध्यक्ष पदमा उम्मेद्धारी घोषणा

काठमाडौँ, ९ मंसिर । आगामी माग महिनामा हुने नेपाल चिकित्सक संघको निर्वाचनमा डा. विश्वराज दवाडीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार सामाजिक सञ्जालबाट एक सार्वजनिक वक्तव्य जारी गर्दै उनले उम्मेद्धारी घोषणा गरेका हुन् ।
डा दवाडीले चिकित्सकहरूको सुरक्षा, स्वाभिमान र सेवाको गुणस्तरलाई आफ्नो अभियानको मूल नारा बनाउने बताएका छन् ।
स्वास्थ्य क्षेत्रमा पछिल्ला वर्षहरूमा चिकित्सकमाथि हुने हिंसा, पेसागत अविश्वास र दक्ष जनशक्तिको पलायन गम्भीर चुनौतीका रूपमा रहेको भन्दै उनले संघ अब केवल चिकित्सकहरूको भेला गर्ने संस्था मात्र नभई स्वास्थ्य प्रणालीको मेरुदण्डका रूपमा काम गर्नुपर्ने समय आएको बताएका छन् ।
उनले नेतृत्वमा आउने नयाँ कार्यसमितिको प्राथमिकता ुसुरक्षा, स्वाभिमान र सेवाको गुणस्तर( डाक्टरको हितमा संघको सशक्त भूमिकाु रहने स्पष्ट पारे।
डा दवाडी अहिले नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुन् । आगामी १ पुसमा उनको सदस्यको पदावधी सकिदैछ ।
यसअघि नेपाल चिकित्सक संघको आउँदो निर्वाचनमा अध्यक्ष पदको उम्मेद्धारी बन्ने भन्दै सामाजिक सञ्जालबाट डा मंगल रावलले पनि घोषणा गरिसकेका छन् ।
यसरी घोषणा गरे डा. दवाडीले उम्मेद्धारी :
आदरणीय अग्रजहरू, प्रिय सहकर्मी चिकित्सक साथीहरू, नेपाल मेडिकल एसोसिएसन (NMA) का सम्पूर्ण सदस्य महानुभावहरू,
सबैमा मेरो हार्दिक नमस्कार! म, डा. विश्वराज दवाडी, तपाईंहरूको साझा संस्था नेपाल मेडिकल एसोसिएसनको अध्यक्ष पदको उम्मेदवारको रूपमा घोषणा गर्दछु।
हाम्रो यो पवित्र पेशाले समाजलाई जीवन र आशा दिन्छ। तर, आज हामी गम्भीर चुनौतीहरूको सामना गरिरहेका छौं। पेसाप्रतिको विश्वास घट्दैछ, चिकित्सकहरूको सुरक्षामाथि निरन्तर प्रश्न उठिरहेको छ, र दक्ष जनशक्तिको पलायन (Brain Drain) राष्ट्रिय चिन्ताको विषय बनेको छ।
NMA केवल चिकित्सकहरूको दर्ता गर्ने वा भेला गर्ने संस्था मात्र होइन, यो हाम्रो साझा आवाज हो, हाम्रो शक्ति हो र नेपालको स्वास्थ्य प्रणालीको मेरुदण्ड हो।
मेरो नेतृत्वमा आउने नयाँ कार्यसमितिको मूल नारा हुनेछ: “सुरक्षा, स्वाभिमान र सेवाको गुणस्तर— डाक्टरको हितमा NMA को सशक्त भूमिका।”
हामी निम्न मुख्य एजेन्डाहरूमा स्पष्ट र ठोस कार्य गर्नेछौं:
१. चिकित्सकहरूको पूर्ण सुरक्षा: शून्य सहनशीलता नीति (Zero Tolerance on Violence)
स्वास्थ्य सेवामा संलग्न डाक्टर र स्वास्थ्यकर्मीमाथि हुने शारीरिक तथा मानसिक हिंसा कुनै पनि हालतमा सह्य हुने छैन।
सशक्त कानुनी पैरवी: स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग तत्काल वार्ता गरी दोषीलाई कडा कारबाहीको सुनिश्चितता गरिनेछ।
मेडिकल क्षतिपूर्ति (Indemnity) अनिवार्य: सबै चिकित्सकका लागि अनिवार्य मेडिकल क्षतिपूर्ति बिमाको व्यवस्थाका लागि पहल गरिनेछ, ताकि सामान्य त्रुटिमा डाक्टरले व्यक्तिगत रूपमा ठूलो आर्थिक र कानुनी भार बोक्नु नपरोस्।
सुरक्षित कार्य वातावरण: कामको उच्च चाप (Burnout) र असुरक्षा कम गर्न अस्पताल प्रशासन र सरकारसँग समन्वय गरिनेछ।
२. वृत्ति विकास र पलायन नियन्त्रण :
नेपालमा रहेर सेवा गर्ने चिकित्सकहरूलाई सम्मान र अवसर प्रदान गरिनेछ। विशेषज्ञ सेवामा प्रोत्साहन: विशेषज्ञ चिकित्सकहरूको उत्पादन बढाउन तथा उनीहरूलाई दुर्गम क्षेत्रमा आकर्षित गर्न विशेष प्याकेज, आकर्षक सेवा सुविधा र वृत्ति विकासको सुनिश्चितताका लागि नीतिगत हस्तक्षेप गरिनेछ।
शोध र अनुसन्धान: NMA मार्फत चिकित्सकहरूका लागि क्लिनिकल रिसर्च र वैज्ञानिक प्रकाशनलाई प्राथमिकता दिइनेछ।
पारिश्रमिकमा एकरूपता: सरकारी, निजी र शैक्षिक संस्थामा कार्यरत चिकित्सकहरूको पारिश्रमिक र सेवा सुविधामा देखिएको असमानता हटाउन राष्ट्रिय मापदण्ड निर्धारणका लागि पहल गरिनेछ।
३. स्वास्थ्य नीतिमा NMA को निर्णायक हस्तक्षेप
स्वास्थ्य नीतिको निर्माणमा NMA को भूमिकालाई सशक्त र निर्णायक बनाइनेछ।
नीति निर्माणमा सहभागिता: स्वास्थ्यसँग सम्बन्धित हरेक कानुन, नीति र नियमावली निर्माण गर्दा NMA को अनिवार्य सहभागिता सुनिश्चित गरिनेछ। हामी अब प्रतिक्रिया दिने होइन, नीति निर्माणको नेतृत्व गर्नेछौँ।
सुलभ स्वास्थ्य सेवा: नागरिकहरूलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनका लागि सरकारलाई दबाब दिँदै, NMA ले ग्रामीण स्वास्थ्य शिविर र जनचेतनाका कार्यक्रमहरूलाई प्राथमिकता दिनेछ।
४. NMA को आन्तरिक शुद्धीकरण र पारदर्शिता
संस्थालाई सदस्य-मैत्री र पूर्ण पारदर्शी बनाइनेछ।
डिजिटल NMA: सदस्यता नवीकरण, मतदान प्रक्रिया, र सूचना प्रवाहलाई पूर्ण रूपमा डिजिटल माध्यमबाट सञ्चालन गरिनेछ।
जवाफदेही प्रशासन: संस्थाको आम्दानी-खर्च, बैठकका निर्णयहरू र वार्षिक कार्ययोजना सबै सदस्यहरूलाई सहजै उपलब्ध गराइनेछ। NMA को प्रत्येक कार्यमा पारदर्शिता कायम गरिनेछ।
५. चिकित्सकहरूको एकता र सम्मान
हामी सबैलाई जोड्ने पुलको रूपमा NMA लाई स्थापित गरिनेछ।
श्रमजीवी चिकित्सकको सम्मान: रेजिडेन्ट, इन्टर्न र नयाँ चिकित्सकहरूको हकहित र उचित सेवा सुविधाका लागि विशेष पहल गरिनेछ।
साझा मञ्च: सरकारी, निजी, तथा विदेशी शैक्षिक योग्यता भएका सम्पूर्ण नेपाली चिकित्सकहरूलाई एकै छातामुनि गोलबद्ध गरिनेछ।
म यहाँ कुनै कोरा सपना बाँड्न आएको छैन। म तपाईंहरूको पीडा महसुस गर्न सक्छु। हाम्रो गौरव र स्वाभिमानको पुनर्स्थापनाका लागि, हामी सबैको साझा भविष्यका लागि, अब ‘यत्तिकै चल्छ’ भन्ने सोचलाई बदल्ने बेला आएको छ।
नेपाल मेडिकल एसोसिएसनको नेतृत्वमा डा. विश्वराज दवाडी र हाम्रो सम्पूर्ण टिमलाई तपाईंको अमूल्य मत दिएर विजयी बनाउनुहोस्। म तपाईंलाई विश्वास दिलाउन चाहन्छु, तपाईंको यो मत चिकित्सा क्षेत्रको परिवर्तनका लागि एक शक्तिशाली कदम हुनेछ।
हामी सँगै अगाडि बढ्नेछौं, सुरक्षित हुनेछौं र सम्मानित हुनेछौं।
धन्यवाद! जय नेपाल, जय NMA!
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
