दन्त स्वास्थ्य सचेतनाका लागि ....

‘गहभरि आँसु’ लिएर आयो ‘केडीसी’

224
Shares

काठमाडौँ, २९ कात्तिक । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)को परिचय दाँत स्वास्थ्यका लागि जनशक्ति तयार गर्ने, नागरिकका लागि मुख तथा दन्त स्वास्थ्य सम्वन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्ने संस्थाको रुपमा मात्रै सिमित छैन, उसले त पहुँचविहीनका लागि विभिन्न जिल्लाका विभिन्न गाउँ ठाउँमा पुगेर नियमित निशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर गर्दै आएको छ ।

शिविर मात्रै पनि कहाँ होर, फरक फरक शैलीबाट उसले मुख तथा दन्त स्वास्थ्य सचेतना कार्यहरु अघि बढाउँदै आएको छ ।

यहि फरक शैलीलाई अपनाउने क्रममा यसै साता केडीसीले ‘गहभरि आँसु’ बालगीत मार्फत दन्त स्वास्थ्य सचेतनाको सन्देश प्रवाह गरेको छ ।

‘गहभरि आँसु’ खासमा किताब चरो नेपालद्वारा सञ्चालित बालगीत परियोजनाअन्तर्गत निर्माण गरिएको गीति फिल्म भए पनि हो । तर यो परियोजना अर्थात गीति फिल्म निर्माणमा केडीसीले सहकार्य गरेको छ । हुन पनि बालबालिकामा हुने दन्त स्वास्थ्य समस्या, दाँत दुखाईका विषयलाई बढो मार्मिक र सरल ढंगले गीत मार्फत सन्देश दिएको छ ।

यस गीतका रचनाकार प्रसिद्ध बाल गीतकार एवं साहित्यकार रामबाबु सुवेदी हुन् । गायिका बबिना भट्टराई र सुप्रिमा थापाले यस गीतमा स्वर दिएका छन् भने निर्देशक आचार्य गोपालले निर्देशन गरेका हुन् । गीतमा अभिनेत्री सुरक्षा पन्त, बालकलाकार अन्सु कार्कीलगायतको अभिनय छ ।

गत मंगलबार केडीसीको अडिटोरियम हलमा गीत सार्वजनिक गर्न गीतकार सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी, पत्रकार/लेखक दीपक सापकोटा पुगेका थिए । त्यहि थिए केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ, प्रिन्सिपल प्राडा. रवीन्द्रमान श्रेष्ठ, प्राडा. सन्ध्या श्रेष्ठ । उनीहरुसंगै बालगीतमा जिवन्त अभिनय गरेकी अभिनेत्री सुरक्षा पन्त, बालकलाकार अन्सु कार्की, कवि रेणु अधिकारी, साउन्ड इन्जिनियर प्रकाश खरेलले संयुक्त रूपमा ‘गहभरि आँसु’ सार्वजनिक गरेका थिए ।

‘खासमा हामी मुख तथा दन्त स्वास्थ्य उपचारसंगै मुख तथा दन्त स्वास्थ्य सचेतनालाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ । यो गीत बालबालिकामा देखिने दन्त स्वास्थ्य समस्या, त्यसले बालबालिकालाई दिने पिडामा र त्यसबाट जोगिनका लागि के के गर्ने ? के कुरामा ध्यान दिने भन्ने विषयमा केन्द्रीत छ । त्यसैले हामीले यस गीतलाई सार्वजनिक गर्न मद्धत गरेका हौँ,’ केडीसीका अध्यक्ष डा. श्रेष्ठले भने ।

‘बालबालिकालाई प्रेम गरे मात्रै सुन्दर समाज निर्माण हुनेछ, त्यसैले म उनीहरूकै विषयमा गीत लेख्न रुचाउँछु,’ गीतकार सुवेदीले भने ।

बालबालिकाका विषयमा यसअघि नै डकुमेन्ट्री, सर्ट–फिल्म निर्देशन गरिसकेका निर्देशक आचार्य गोपाल भन्छन्, ‘बालबालिका माथि लगानी गरे मात्रै र तिनका समस्या पहिचान गरेर काम गरे मात्रै उनीहरूलाई पनि समाजप्रति उत्तरदायी हुन सिकाउँछ, फिल्ममार्फत् उनीहरूकै दुःख–व्यथा देखाउने प्रयत्न गरेका छौं ।’

अभिनेत्री सुरक्षा पन्तले ‘गहभरि आँसु’ बालगीतमा आफ्नो अभिनय अनुभव सुनाइन् । ‘बालबालिकाका स–साना खुसी र दुःखलाई नजिकैबाट अनुभूत गर्न पाएँ,’ उनले भनिन् ।

धनप्रसाद सुवेदीले बालबालिकाका विषयमाथि धेरै फिल्म बन्नुपर्ने र तिनले बालबालिकाको समस्या पहिचान गर्नुपर्ने विचार व्यक्त गरे । ‘यस्ता फिल्मले बालबालिकाको दुःख बुझ्न सहयोग गर्नेछ,’ उनले भने ।

दन्त स्वास्थ्यमा आधारित उक्त गीतको छायांकन कान्तिपुर डेन्टल हस्पिटल र त्यस आसपासमा गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *