एनएचपीसी लाइसेन्स परीक्षा : १२ वटा विषयमा परीक्षार्थी सत प्रतिशत अनुत्तीर्ण !

धेरै परीक्षार्थी भएका ब्याचलर इन अप्टोमेट्रिका परीक्षार्थी भन्छन्, 'एनएचपीसीको लापरवाही'
388
Shares

काठमाडौँ, १८ कात्तिक । नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी)ले गत २८ र २९ असोजमा लिएको १५ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ब्याचलर इन अप्टोमेट्रि विषयमा ८३ जना परीक्षार्थीको सहभागिता थियो । तर सो परीक्षामा एक जना पनि उत्तीर्ण भएनन् ।

सत प्रतिशत अनुत्तीर्ण भएको नतिजा आएपछि परीक्षार्थीहरु आक्रोशित र आन्दोलित बनेका छन् । उनीहरुले सत प्रतिशत अनुत्तीर्ण हुने गरी आएको नतिजालाई एनएचपीसीको भयंकर कमजोरी र लापर्वाहीको रुपमा अर्थ्याएका छन् ।

अप्टोमेट्रि परीक्षार्थी मध्यकी एक प्रिति रौनियारले परिषद्को लापरवाहीका कारण सत प्रतिशत अनुत्तीर्ण भएको आरोप लगाइन । उनले परीक्षाका लागि बनाइएको पाठ्यक्रम (सेलेवर्स) भन्दा बाहिरबाट प्रश्न सोधिएको, गतल प्रश्न, द्धीअर्थी प्रश्नहरु सोधिएको र जाँचमा जुन जुन विषयका लागि जति पूर्णाङ्कको प्रश्न सोध्नु पर्ने थियो त्यो नभएको समेत दावी गरिन् ।

‘परीक्षामा पूर्ण रुपमा लापवाही गरिएको छ । विद्यार्थीहरुको भविस्य डामाडोल गर्न खोजिएको छ । यसमा हाम्रो आपत्ति छ,’ उनले भनिन् ।

तर परिषद्का रजिष्ट्रार लिलानाथ भण्डारी उनको कुरामा सहमत छैनन् । उनले पाठ्यक्रमबाहिरबाट प्रश्नपत्र आउने भन्ने विषयलाई पनि अश्विकार गरे ।

‘कहिलेकाँही प्राविधिक कारणबस कुनै गलत प्रश्न गएको रहेछ भने त्यसले विद्यार्थीलाई नोक्सान भयो भनेर सत प्रतिशत नै अंक दिईने व्यवस्था रहेको समेत सुनाए । अप्टोमेट्रिमा सत प्रतिशत फेल भएको विषयलाई उनले विद्यार्थीकै कमजोरीको रुपमा लिनु पर्ने अर्थ लगाए । पाठ्यक्रममा रहेर विज्ञहरुले तयार पार्ने प्रश्नपत्र हो । पाठ्यक्रम अनुसार नै प्रश्न आउने हो । त्यसमा सहि उत्तर दिन सकिएन भने त फेल भइन्छ,’ उनले भने ।

रजिष्ट्रार भण्डारीले, पछिल्लो पटकको अप्टोमेट्रि परीक्षामा सहभागीहरुमध्ये एक जना बाहेक सबै भारतीय कलेजहरुबाट पास आउट भएर आएकाहरु रहेको भन्दै यसमा परिषद्ले विभिन्न कोणबाट छानविन अघि बढाएको समेत बताए ।

लाइसेन्स परीक्षा भएका ४५ मध्ये १२ विषयको नतिजा सत प्रतिशत अनुत्तीर्ण

सत प्रतिशत अनुत्तीर्ण भएको भन्दै अप्टोमेट्रिका परीक्षार्थीहरु विरोधमा उत्रिए पनि गत असोज २८ र २९ गते लिइएको परिषद्को १५ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा पीसीएल, व्याचलर र मास्टर्स लेभलका विभिन्न ४५ विषयमध्ये १२ वटा विषयको नतिजा सून्य आएको छ ।

त्यसरी सून्य नतिजा आउने विषयहरुमा मास्टर्स लेभलको चारवटा विषय परेका छन् ।

परिषद्का अनुसार यसपटकको परीक्षामा मास्टर्स इन अप्टोमेट्रि (एमओपीटी) विषयमा छ जनाले परीक्षा दिएकोमा सबै अनुत्तीर्ण भएका छन्, यस्तै मास्टर इन फिजियोथेरापी (कार्डियो पल्मोनरी)मा एक जनाले परीक्षा दिएका थिए, उनी पनि अनुत्तीर्ण भए ।

यस्तै मास्टर अफ अडियोलोजी स्पिच एण्ड हेयरिङ ल्याङग्वेज प्याथोलोजी (एमएमएसएलपी)मा एक जना सहभागी भएकोमा उनी पनि अनुत्तीर्ण भएका छन् । यस्तै मास्टर अफ साइन्स मेडिकल क्लिनिकल हेपाटोलोजी एण्ड व्लड बैंकिङ विषयमा दुई जनाले सहभागिता जनाएकोमा दुबै जना फेल भएका छन् ।

व्याचलर तर्फ ब्याचलर इन अप्टोमेट्रि (ओपीटी) विषयमा ८३ जना सहभागी भएकोमा सबै ८३ जना नै अनुत्तीर्ण भएका छन् । यस्तै व्याचलर इन युनानी (बीयुएमएस)मा एक जना सहभागी भएकोमा अनुत्तीर्ण व्याचलर अफ होमियोप्याथिक मेडिसिन एण्ड सर्जरी (बीएचएमएस)मा एक जना सहभागी भएकोमा अनुत्तीर्ण, व्याचलर अफ साइन्स इन मेडिकल क्लिनिकल माइक्रोबायोलोजी (बीएस्सी माइक्रो)मा एक जना सहभागी भएकोमा अनुत्तीर्ण, व्याचलर अफ साइन्स कार्डियाक टेक्नोलोजीमा पनि एक जना सहभागी भएकोमा अनुत्तीर्ण भएका छन् । यस्तै बीएससी रेनल डायलायसिस टेक्नोलोजीमा पनि एक जना सहभागी भएकोमा अनुत्तीर्ण भएका छन् ।

यसैगरी परिषद्ले पीसीएल तर्फ पीसीएल इन एनेस्थेसिया विषयमा लाइसेन्सका लागि सहभागी एक जना भए पनि ती परीक्षार्थी अनुत्तीर्ण भएको जनाएको छ ।

तर समग्रताको पास प्रतिशत हेर्दा परिषद्ले मास्टर लेभलको कुल १८ विषयमा १२९ परीक्षार्थी सहभागी भएकोमा ९४ जना अर्थात ७२.८७ प्रतिशत उत्तीर्ण भएको बताएको छ ।

यस्तै व्याचलर तर्फ कुल १५ विषयमा ५०५ जनाले सहभागिता जनाए पनि १५६ जना मात्रै अर्थात ३०.८९ प्रतिशत उत्तीर्ण भएको उल्लेख गरेको छ ।

पीसीएल तर्फको १२ विषयमा कुल २ हजार ३७ जनाले परीक्षामा सहभागिता जनाए पनि ९५७ जना अर्थात ४६.९८ प्रतिशत उत्तीर्ण भएको जनाएको छ ।

नतिजाबारेमा अध्ययन् गरी प्रतिवेदन बुझाउन समिति गठन

यसैबीच परिषद्ले लिन थालेको अहिलेसम्मको परीक्षा र नतिजाको अध्ययन गरी प्रतिवेदन बुझाउन परीक्षा समितिका प्रमुख राजन पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । सो समितिका अन्य सदस्यहरुमा परिषद्का सदस्य समेत रहेका मुकेश झा, कानूनका तर्फबाट अधिवक्ता ओमप्रकाश सिंह, आईटि विज्ञको रुमपा गोविन्द पाण्डे रहेका छन् । सदस्य सचिवमा बसन्तकुमार श्रेष्ठलाई तोकिएको छ ।

यो समितिले काम थालेको ७ दिन भित्र रिपोर्ट दिने गरी कार्यावधी तोकिएको छ ।

सदस्य सचिव श्रेष्ठका अनुसार समितिले १५ औँ लाइसेन्स परीक्षा हुँदासम्मका नतिजाहरुको विश्लेषण गर्नेछ । ‘अहिलेसम्म भएका १५ वटै जाँचमा कुन विषय र कहाँ पढेका परीक्षार्थीहरु फेल भएका छन् ? किन बढी फेल भए ? परीक्षामा प्रश्न गाह्रो सोधिएर हो कि विद्यार्थी नै कमजोर भएको हो ? हरेक कोणबाट अध्ययन् विश्लेषण हुन्छ,’ सदस्यसचिव श्रेष्ठले भने ।

उनले नतिजामा चित्त नबुझेका विद्यार्थीहरुलाई निश्चित प्रक्रिया पुरा गरेपछि उत्तर पुस्तिका हेर्न सक्ने व्यवस्था मिलाइएको समेत बताए । ‘मैले कुन प्रश्नमा के उत्तर दिएको रहेछु, कहाँ नम्बर आयो कहाँ विग्रियो भनेर हेर्न सकिन्छ । आइटी विज्ञको निगरानीमा परीक्षार्थीहरुलाई आफ्नो उत्तर पुस्तिका हेर्न सकिने व्यवस्था समेत छ । तर अनावश्यक आरोप लगाउँदै हिड्न चाहि भएन,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *