शनिबार भएको सहमतिबाट असन्तुष्ट नर्सहरुको समूहद्धारा नर्सिङ संघको कार्यालय घेराउ
काठमाडौँ १६ कात्तिक । आन्दोलनरत नर्सहरुले उठाएको मागका विषयमा शनिबार बेलुका सहमति भएको भनिए पनि नर्सहरुको असन्तुष्ठ पक्ष भने त्यसमा असहमति जनाएको छ ।
नर्सिङ संघका पदाधिकारीहरुले धोकापूर्ण सम्झौँता गरेको भन्दै सो समूहले आज लाछिम्पाटस्थित नेपाल नर्सिङ संघको कार्यालय घेराउ गर्न पुगेको छ ।
‘हामी नर्सिङ संघको कार्यालयमै छौँ । केही साथीहरु घेराउ गर्नु भन्दै आउनु भएको छ । यहाँ कुराकानी पनि भईरहेको छ,’संघकी महासचिव डा. देवका आचार्यले भनिन् ।
नर्सहरुको एक समूह घेराउ गर्न जाँदै गरेको जानकारी पाएपछि कार्यालय वरिपरि प्रहरी परिचालन समेत गरिएको छ ।
यसअघि शनिबार बेलुका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उच्चस्तरीय कार्यदलको बैठक बसी आन्दोलनमा उठेका मागलाई सम्वोधन हुने गरी सम्झौँता भएको बताइएको थियो ।
सम्झौँता अनुसार मेडिकल कलेजहरुले सरकारी नर्सको पाँचौँ तह बराबर ३४ हजार ७३० रुपैयाँ र निजी अस्पतालहरुले यसको ८० प्रतिशत नघट्ने गरी भएको बताइएको छ ।
नेपाल नर्सिङ संघका अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले शनिबार भएको सम्म्झौँताबारे जानकारी दिदै नमिलेका र गर्न बाँकी कामहरु कार्यादलले एक महिना भित्र मिलाउने बताईन् । उनले संघ सधै श्रमजिवी नर्सहरुको पक्षमा रहेको समेत उल्लेख गरिन् । उनले सहमति अनुसार अघि बढ्न नर्सहरुलाई समेत आग्रह गरेकी छन् ।
सरकारी सरह सेवा सुविधा हुनुपर्ने माग राख्दै मणिपाल मेडिकल कलेजका नर्सहरुले सुरु गरेको आन्दोलनले देशव्यापी रुप लिएपछि सरकारले कार्यदल गठन गरि समाधानका लागि पहल गरेको हो । शनिबार स्वास्थ्य मन्त्री डा सुधा शर्माकै उपस्थितिमा सहमति भएको हो ।
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 
