दैनिक हिडाई र हल्का ब्यायम क्यान्सरका बिरामीका लागि अत्यन्तै फाइदाजनक : अध्ययन्

लण्डन । नियमित रूपमा हिँड्ने वा हल्का व्यायाम गर्ने बानीले ठूलो आन्द्राको क्यान्सर भएका बिरामीको मृत्यु जोखिम घटाउन सक्ने नयाँ अध्ययनले देखाएको छ ।
अमेरिकामा गरिएको अध्ययनका अनुसार हप्तामा कम्तीमा दुई घण्टा ३० मिनेट हिँड्ने वा मध्यम व्यायाम गर्ने क्यान्सर प्रभावित व्यक्तिहरूमा मृत्यु दर ५० प्रतिशतसम्म कम पाइयो ।
ब्रिटिश मिडिया डेली मेलमा प्रकाशित गरेको उक्त अनुसन्धानले क्यान्सर उपचारमा औषधीसँगै सक्रिय जीवनशैलीको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको निष्कर्ष निकालेको हो ।
हल्का व्यायामले पनि ठूलो फाइदा
अनुसन्धान टोलीले करिब १,५०० ठूलो आन्द्रामा भएको क्यान्सरका बिरामीलाई लामो समयसम्म ट्र्याक गरेका थिए । सो क्रममा नियमित हिँडडुल गर्नेहरूमा उपचारको प्रभाव राम्रो र बाँच्ने दर लम्बिएको पाइएको हो ।
वैज्ञानिकहरूले भनेका छन्, “व्यायामले शरीरमा अक्सिजनको प्रवाह बढाउँछ, सुजन घटाउँछ र रक्तसञ्चार सुधार गर्छ । यसले क्यान्सर कोषहरूको बृद्धि समेत सुस्त पार्छ र औषधीको प्रभावकारिता बढाउँछ ।”
क्यान्सर रोग विशेषज्ञ डा. जुली ग्रिफिन भन्छिन् —“दैनिक ३० मिनेट छिटो हिँड्ने बानी औषधी जत्तिकै प्रभावकारी हुन सक्छ । र यो उपचारको क्रममा मात्र होइन, उपचारपछि पनि शरीरलाई सक्रिय राख्नु अत्यावश्यक छ ।”
निष्क्रिय जीवनशैलीले बढाउँछ जोखिम
अध्ययनका अनुसार धेरै समय बसिरहनु, कामका क्रममा समेत शारीरिक गतिविधि नगर्नु वा निष्क्रिय जीवनशैली अपनाउने व्यक्तिहरूमा रोग पुनः देखा पर्न र मृत्यु दर बढ्ने सम्भावना बढी हुन्छ ।
शोधकर्ताहरूले बिरामीहरूलाई उपचारपछि पनि सक्रिय रहन र हिँड्ने बानी निरन्तर राख्न सल्लाह दिएका छन् ।
सम्पर्क इमेल : [email protected]


 नेपाली हेल्थ
नेपाली हेल्थ 

 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 