गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी
कायरो, ३१ असोज । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा रोगको प्रकोप नियन्त्रण बाहिर सर्दै गएको चेतावनी दिएको छ ।
हाल यस क्षेत्रका ३६ मध्ये १३ वटा अस्पताल मात्र चलिरहेको द्वन्द्व र विनाशको बिचमा आंशिकरूपमा काम गरिरहेका छन् ।
पत्रकारसँग कुरा गर्दै पूर्वी भूमध्यसागरका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. हनान बाल्खीले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त भएको आवश्यक पूर्वाधारको अवशेष मात्र बाँकी रहेको बताएका हुन् ।
गाजामा स्वास्थ्य संस्था थोरै बाँकी रहेको बताउदै उनले मेनिन्जाइटिस, गुइलेन-बार्रे सिन्ड्रोम, र श्वासप्रश्वाससम्बन्धी रोगलगायत सङ्क्रामक रोगको अनियन्त्रित फैलावटको चेतावनी दिएका छन् ।
डब्ल्यूएचओको तथ्याङ्कअनुसार गाजा सहरमा हाल आठवटा स्वास्थ्य केन्द्र मात्र सञ्चालनमा छन् भने कर्मचारी अभावको कारण आंशिकरूपमा मात्र सेवा दिइरहेका छन् ।
डा. बाल्कीले गाजाको स्वास्थ्य क्षेत्रको पुनर्निर्माण गर्न अरबौं डलर र दशकौंको काम लाग्ने कुरामा जोड दिदै आवागमनमा चलिरहेको प्रतिबन्ध र द्रुत गतिमा परिवर्तन भइरहेको अवस्थाका कारण क्षतिको मूल्याङ्कन गर्नेसमेत चुनौती रहेको बताएका छन् ।
सन् २०२३ अक्टोबर-७ देखि, संयुक्त राष्ट्रको तथ्याङ्कअनुसार स्वास्थ्य सुविधामा ८०० भन्दा बढी आक्रमण रिपोर्ट गरिएको छ ।
बाल्खीले विगत दुई वर्षमा जन्मेका बच्चाप्रति पनि चिन्ता व्यक्त गर्दै उनीहरुले बाल्यकालका आवश्यक खोपसमेत गुमाएको बताएका छन् ।
चालु महिनाको सुरुमा विश्व स्वास्थ्य सङ्गठनको एक रिपोर्टले अक्टोबर २०२३ देखि युद्धमा कैयौँ घाइते तथा अपाङ्गताबाट ग्रस्त रहेको र घाइते भएका मध्ये एक चौथाई बालबालिका रहेको खुलासा गरेको थियो ।
गाजामा मानसिक स्वास्थ्यको आवश्यकता पनि दोब्बरभन्दा बढी भएको छ, तैपनि हालको सेवामा निकै कमी आएको एजेन्सीले जनाएको छ ।
डा.बाल्खीले घाइते व्यक्तिलाई वेस्ट ब्याङ्क वा छिमेकी देशमा उपचारका लागि तत्काल कारबाही गर्न अपिल गर्दै इन्धन, खाना, चिकित्सा आपूर्ति र कर्मचारीको पहुँच बढाउन आह्वान गरे ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य कारबाही सुरु भएदेखि कम्तीमा ६७ हजार ९६७ जनाको मृत्यु भएको छ ।
सम्पर्क इमेल : [email protected]