अघिल्लो सरकारले नियुक्त गरेका डा. शैल रुपाखेती सहितका ११ जना राजदूत फिर्ता गर्ने निर्णय
काठमाडौँ, ३० असोज । सरकारले विभिन्न देशका ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारको पालामा नियुक्त भएका विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
त्यसरी फिर्ता हुने सूचीमा साढे १० महिना अघि नेपाल सरकारको राजदूत बनेर जर्मनरी पुगेका डा शैल रुपाखेती पनि छन् । उनी चिकित्सा प्राक्टिसमै रहेका बेला राजदूत बनेर जर्मनी पुगेका थिए । यस्तै फिर्ता बोलाउने निर्णयमा परेका अन्य राजदूतहरुमा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सेना छन् ।
यस्तै कतारका लागि नेपाली राजदूत बनेका रमेशचन्द्र पौडेल, रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान, साउदी अरवका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल, स्पेनका लागि नेपाली राजदूत शलिन नेपाल, संयुक्त अधिराज्य बेलायतलागि नेपाली राजदूत डा चन्द्रकुमार घिमिरे, सयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत बनेका डा लोकदर्शन रेग्मी र जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
सरकारले उनीहरुलाई तीन साता अर्थात २० कात्तिक भित्रै स्वदेश फर्कन समय सिमा तोकेको छ ।
मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले भने, अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतहरु फिर्ता बोलाउने निर्णय भएको छ र त्यसरी फिर्ता गरिएका राजदूतहरु २० कात्तिक भित्र स्वदेश आईसक्नुपर्ने छ ।
सम्पर्क इमेल : [email protected]