सिंहदरबार भित्र ठाउँ खोज्दै स्वास्थ्य मन्त्रालय

शहरी विकासका प्रवक्ता भन्छन्, 'ठोस निर्णय भईसकेको छैन'
192
Shares

काठमाडौँ, २२ असोज । आम नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सेवा लिन अहिले जो कोही गत २४ भदौमा जलेर खण्डहर बनेको मुख्य भवनको संरचना पार गरेर पछाडी रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को साँघुरो भवनमा पुग्नु पर्छ ।

भवितव्यमा परेको बेला परिषद्ले अस्थायी रुपमा प्रयोग गर्न मन्त्रालयलाई आफ्नो नयाँ भवन आश्रय दिए पनि त्यो प्रयाप्त छैन । त्यसैले मन्त्रालयका अधिकारीहरु ध्वंश पछिको पहिलो दिन देखि नै नयाँ भवनको खोजीमा सिंहदरबार धाई रहेका छन् ।

‘दशैं अघि नै केही होला भनिएको थियो तर भएन, अब तिहार अघि नै केही होला कि भन्ने आशामा छौँ,’ मन्त्रालयका एक कर्मचारीले भने । तर, भवन व्यवस्थापन गर्ने जिम्मा पाएको शहरी विकास मन्त्रालयले अहिलेसम्म त्यसबारेमा ठोस रुपमा कुरा अघि बढ्न नभ्याएको बताउने गरेको छ ।

स्वास्थ्य मन्त्रालयले सुरुमा सिंहदरबार भित्रको पुरानो संसद भवनको दुईवटा भवन मध्ये एउटा दिनका लागि लविङ गरेको थियो तर त्यो तत्काल नमिल्ने जवाफ पाएपछि अहिले जग्गा (खाली) ठाँउको खोजीमा लागेको छ ।

स्वास्थ्य सचिव डा. विकास देवकोटाले स्वास्थ्य मन्त्रालयका लागि सिंहदरबार भित्र भवन वा जग्गा उपलव्ध गराउन भनिरहेको बताउँछन् । उनले आफूहरुले सकेसम्म छिटो भवन वा जग्गाको टुंगो लागे काम गर्न सहज हुने बताए ।

स्वास्थ्य समन्वयन महाशाखाका प्रमुख डा. भीम सापकोटा सिंहदरबार भित्र नै सर्ने योजनामा रहेको र सकेसम्म भवन खोजेको नभए खाली जग्गा भए प्रिफ्यावको अस्थायी संरचना निर्माण गरेर भए पनि काम अघि बढाउने योजनामा आफूहरु रहेको बताएका छन् ।

तर नयाँ भवनको व्यवस्थापन गर्ने जिम्मा पाएको शहरी विकास मन्त्रालयले स्वास्थ्यको यो हतारोलाई त्यति ध्यान दिएको छैन । शहरी विकास मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव नारायण प्रसाद मैनालीले स्वास्थ्यलाई नयाँ भवन वा जग्गा दिने विषयमा ठोस छलफल नभएको बताए ।

‘स्वास्थ्यले भवनका लागि पत्र त पठाएको छ, तर हामी अहिले जलेका सरकारी संरचना सरसफाई गर्नेमा बढी केन्द्रीत छौँ । स्वास्थ्यलाई भवन वा जग्गा दिने भन्ने विषयमा अहिलेसम्म कुनै छलफल हुन पाएको छैन । बिस्तारै त्यो विषयमा केही समय पछि छलफल होला’ मैनालीले भने ।

जेन जी नेतृत्वको आन्दोलनले २४ भदौमा विध्वंशात्मक रुप लिँदा मन्त्रालयको मुख्य भवन सहित त्यहाँ रहेका सम्पूर्ण काजजात, फर्निचर र सवारी साधन जलेर खरानी भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *