चिकित्सक लाइसेन्स परीक्षामा जम्मा ३९ प्रतिशत उत्तीर्ण, डेन्टल तर्फको नतिजा झन् ध्वस्त
काठमाडौँ, १० असोज । एमबीबीएस र बीडीएस कोर्ष उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा सहभागी हुन गएकामध्ये ३९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । त्यसमा डेन्टल (बीडीएस) तर्फको नतिजा त झन् ध्वस्तै देखिएको छ ।
एमबीबीएस र बीडीएस उत्तीर्ण गरेकाहरुलाई आधिकारिक रुपमा डाक्टरको उपाधी दिनका लागि काउन्सिलले गत बुधबार र बिहीबार (अस्ती र हिजो) ७३ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा लिएको थियो । त्यसको नतिजा बिहीबार बेलुका नै प्रकाशित भएको थियो ।
काउन्सिल रजिष्ट्रार डा. सतीशकुमार देवका अनुसार यसपटकको दुई दिने परीक्षामा एमबीबीएस र बीडीएसमा गरी कुल सहभागिता १ हजार ७७ जना भए पनि जम्मा ४२१ जना (३९.०९ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन् ।
त्यसमा सबैभन्दा कम बीडीएस तर्फ जम्मा १८.६२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।
रजिष्ट्रार डा. देवका अनुसार यसपटक परीक्षाका लागि एमबीबीएस र बीडीएस गरी कुल १ हजार १०३ जनाले फारम भरेका थिए । तर २६ जना परीक्षामा अनुपस्थित थिए ।
एमबीबीएसमा कुल ९१५ जनाले फारम भरेकोको परीक्षाका बेला २१ जना अनुपस्थित थिए । एमबीबीएस तर्फको लाइसेन्स परीक्षामा ८९४ जनाले परीक्षामा सहभागिता जनाएकोमा ३८६ जना ( ४२.१९ प्रतिशत) मात्रै पास भएका छन् । परीक्षामा दिएका मध्ये ठूलो संख्या अर्थात ५०८ जना (५७.८१ प्रतिशत) फेल भएका छन् ।
यस्तै बीडीएस तर्फ १८८ जनाले फारम भरे पनि परीक्षाका बेला ५ जना अनुपस्थित थिए । कुल १८३ जना सहभागी भएकोमा जम्मा ३५ जना (१८.६२ प्रतिशत) मात्रै उत्तीर्ण हुन सफल भए । परीक्षा दिएका मध्ये १४८ जना (८१.३८ प्रतिशत) फेल भएका छन् ।
रजिष्ट्रार डा. देवले यसपटकको परीक्षामा सहभागी धेरै जसो अघिल्ला परीक्षामा अनुतीर्ण भएकाहरु रहेकोले नतिजा कम आएको हुन सक्ने अनुमान गरे ।
चिकित्सा शिक्षा आयोगले यसैपटक एमबीबीएस र बीडीएसको सिट बढाउने निर्णय गरेको छ । चिकित्सा शिक्षा तर्फकै कतिपयले सिट बढाउँदा गुणस्तरमा पढाईको गुणस्तरमा धक्का हुने दावी गर्दै आएका छन् । काउन्सिलको पछिल्लो नतिजाले उनीहरुको आशंकालाई थप बल पुगेको छ ।
सम्पर्क इमेल : [email protected]