आगलागीमा भएको क्षतिको विवरण संकलन गर्दै स्वास्थ्य तथा मन्त्रालय
काठमाडौँ, २७ भदौ । जेनजी आन्दोलनले गत २४ भदौमा विध्वंसात्मक रुप लिदा जलेको रामशाहपथको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल क्षतिको विवरण संकलन सुरु भएको छ ।
मन्त्रालयमा आज विहान ८ बजे देखि नै आएका कर्मचारीहरुले आ आफ्ना कार्यकक्षहरु निरीक्षण गर्ने र क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम सुरु गर्न आटेका छन् ।
मन्त्रालय स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा भीम सापकोटाले अहिलेको हिजो देखि नै मन्त्रालयमा कर्मचारीहरु आउन थालेको र आज अलि बढी आएको बताए ।
‘अहिले हामी आफूलाई नै सामान्यकरण बनाउने प्रयास गर्दैछौँ । किनभने आन्दोलनका क्रममा देखिएका परिदृश्यसंगै आफूले लामो समय काम गरेको कार्यालय यो अवस्थामा पुगेको देख्दा मानसिक रुपमा पनि असर हुँदो रहेछ । त्यसैले हामी पहिले आफू सम्हालिऔँ र नर्मल अवस्थामा आऔँ अनि विस्तारै काम अघि बढाऔँ भन्ने छ । हामीले विस्तारै क्षतिको विवरण संकलन गर्ने मुचुल्का उठाउने र गृह मन्त्रालयलाई बुझाउने तयारी पनि गर्दैछौँ,’ उनले भने ।
२४ भदौमा भएको आगलागीमा मन्त्रालयको भवन पूर्ण रुपमा जल्दा त्यहाँ भित्र रहेका कागजात, दराज फर्निचर तथा उपकरणहरु जलेर पूर्ण रुपमा नष्ट भएको छ । कार्यालयमा रहेका सबैजसो गाडी जलेर ध्वस्त भएको छ । केही कर्मचारीहरुको मोटरसाइकल हराएको छ ।
जेनजीको आन्दोलनको दोस्रो दिन २४ भदौ दिउसो २ बजेसम्म स्वास्थ्यका कर्मचारीहरुले एचईओसीको भवनमा रहेर काम गर्दै आएका थिए । सोही दिन भिडले तोडफोडको प्रयास गरेपछि प्रहरीले कर्मचारीहरुलाई पछाडीको बाटोबाट भगाएको थियो ।
त्यसपछि मन्त्रालयको कामहरु भर्च्युअल रुपमा चल्दै आएको छ । एचईओसीको काम भने वीर अस्पतालको सर्जिकल भवनमा एउटा कोठाबाट सञ्चालन सुरु भएको छ ।
सम्पर्क इमेल : [email protected]