भरच्युल रुपमा काम गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एचईओसीको कामका लागि वीर अस्पतालमा कोठा छुट्याइयो
काठमाडौँ, २६ भदौ । जेन जी आन्दोलनमा पूर्ण रुपमा जलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तत्कालै गएर काम गर्न सक्ने अवस्था छैन । मन्त्रालयका उच्च अधिकारीहरुले भर्च्युल रुपमा अत्यावस्यक काम तथा सरसल्लाह गरिरहेका छन् ।
मन्त्रालय परिसरमै रहेको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई (एचईओसी) समेत जलेपछि त्यसका लागि भने वीर अस्पतालमा एउटा कोठा तयार गरिएको छ ।
आपतकालीन अवस्थामा बढी सक्रिय हुने एचईओसीले अहिले आन्दोलनका घाइते तथा मृतकको तथ्यांक संकलन गर्ने, उपचारका लागि सहजीकरण गर्ने लगायतका कामहरु गर्दै आएको छ । एचईओसीले सुरुका दिन देखि नै आन्दोलनका क्रममा घाइते भएकाहरुको विवरण लिएर उपचारमा सहजीकरण समेत गर्दै आईरहेको छ ।
स्वास्थ्य सचिव डा. विकास देवकोटाले मन्त्रालय पूर्ण रुपमा जलेको भन्दै त्यहाँ गएर अहिल्यै काम सुरु गर्न नसकिने बताए । ‘हामी मुख्य सचिवसंग भर्च्युल्ली मिटिङ गरिरहेका छौँ । हिजो पनि मिटिङ थियो आज पनि हुन्छ । खासगरी अहिले त मन्त्रालयले गर्ने काम घाइतेहरुको उपचारमा कुनै कमी नहोस भन्ने नै हो । जो एचईओसीका माध्यमबाट हुँदै आएको छ । यस्तो बेलामा उपचारका लागि जनशक्ति व्यवस्थापन, औषधी, रगत, आईसीयू लगायतका व्यवस्थापन गर्न निक्कै चुनौती हुन्छ । तर हामीले त्यसमा कुनै कमी हुन नदिई काम गरिरहेका छौँ । हाम्रा कर्मचारी र देशभरका अस्पतालमा रहेका स्वास्थ्यकर्मीहरुले यो विसम परिस्थितिमा दिलो ज्यान दिएर काम गर्नु भएको छ । यतिबेला स्वास्थ्य मन्त्रालयको प्राथमिकता घाइतेको उपचारमै केन्द्रीत छ,’ नेपाली हेल्थसंग उनले भने ।
एचईओसीमा कार्यरत स्वास्थ्यकर्मी गोपाल पाण्डेले मन्त्रालय परिसरमा रहेको आफूहरुको ब्लक पूर्ण रुपमा जलेपछि पनि आपतकालीन अवस्थामा हुनु पर्ने कामहरु निर्वाध रुपमा चलिरहेको बताए । ‘हामीले घाइतेको तथ्यांक संकलन देखि उपचार व्यवस्थापनका लागि चाहिने सबै कामहरु देशभरका अस्पतालहरुसंग समन्वय गरेर गर्दै आएका छौँ । अब वीर अस्पतालमा सानो कार्यालय खडा गरी यसलाई अघि बढाउने कुरा भएको छ,’ उनले भने ।
एचईओसीको पछिल्लो जानकारी अनुसार अहिलेसम्म देशका ३१ वटा अस्पतालमा १ हजार ८१ जना घाइतेको उपचारका लागि लगिएको छ । त्यसमध्ये ७४५ जना डिस्चार्ज भएका छन् । २८८ जनालाई भर्ना गरेर उपचार भईरहेको छ । एचईओसीले आन्दोलनका क्रममा ३२ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
सम्पर्क इमेल : [email protected]