भक्तपुर अस्पताल बन्यो डीआर टीबी उपचार गर्ने नयाँ सेन्टर
काठमाडौँ, २२ भदौ । औषधी प्रतिरोधी क्षयरोग (डीआर टीबी) उपचारका लागि भक्तपुर अस्पताल नयाँ केन्द्र तोकिएको छ । डीआर टीबी उपचार केन्द्र स्थापना गर्न आइतबार राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा श्रीराम तिवारी र अस्पतालका निर्देशक डा सरेन्द्रप्रसाद भट्टबीच सम्झौँता भएको छ ।
यो संगै डीआर टीबी उपचार गर्ने केन्द्रको संख्या देशभरमा ९९ वटा केन्द्र पुगेको छ । बागमती प्रदेशमा मात्रै यस्ता केन्द्रको संख्या २३ भएको छ ।
केन्द्रका उपसचिव वीरबहादुर रावलका अनुसार नेपालमा क्षयरोगका बिरामीहरु अहिले पनि ठूलो संख्यामा लुकेको अवस्था छ । त्यसमध्ये औषधी प्रतिरोधी क्षयरोग (डीआर टीबी) अवस्था अझ भयावह छ ।
उनले अब भक्तपुर अस्पतालबाट डीआर टीबीका बिरामीका लागि बीप्याट र बीपालएम भनिने नयाँ उपचार पद्धती पनि सुरु भएको बताए ।
नेपालमा औषधी प्रतिरोधी क्षयरोगकिो तीन हजार बढी भएको अनुमान छ । तर सरकारको सम्पर्कमा गत आर्थिक वर्षमा ४२६ जना मात्रै आएका छन् । यसले क्षयरोग अन्त्यको लक्ष्यमा असर परिरहेको केन्द्रका निर्देशक डा तिवारी बताउँछन् ।
औषधी प्रतिरोधी क्षयरोगीको उपचार सम्पूर्ण रुपमा निशुल्क गरेको छ । अझ सरकारले संक्रमितलाई दैनिक जीवन सहताका लागि भन्दै मासिक तीन हजार रुपैयाँ नगद समेत उपलव्ध गराउँछ ।
सम्पर्क इमेल : [email protected]