एक सर्को चुरोट तान्दा पाँच सय रुपैयाँ चैट !
काठमाडौँ महानगर भित्र सार्वजनिक स्थलमा धूमपान गर्ने १७ जना कार्वाहीमा
काठमाडौँ, २ भदौ । चालु आर्थिक वर्ष देखि नै सार्वजनिक स्थलमा धूमपान निषेधको अभियान सुरु गरेको काठमाडौँ महानगरपालिका आइतबार कडा एक्सनमा उत्रिएको छ ।
उसले पहिलो दिन सार्वजनिक स्थलमा धूमपान गर्ने १५ जना माथि कार्वाही गरेको छ । महानगरीय प्रहरीको टोलीले सार्वजनिक स्थलमा चुरोटको सर्को तान्ने १७ जनालाई जनही ५०० रुपैयाँका दरले रसिद थमाएका छन् ।
‘अब महानगरपालिका भित्र जथाभावी चुरोट खान निषेध छ । एक सर्को तान्यो कि ५०० रुपैयाँ तिर्नु पर्छ । दोस्रो पटक परेमा दोब्बर अर्थात १००० रुपैयाँ हुन्छ,’ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले भने ।
प्रहरीले आइतबार सार्वजनिक स्थलमा धूमपान गर्नेमाथि गरिएको कार्वाहीको भिडियो समेत सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षका लागि गत ३२ असारमा पारित गरेको नयाँ आर्थिक ऐनमै सार्वजनिक स्थलमा धूमपान गर्नेमाथि पहिलो पहिलो पटक ५०० रुपैयाँ जरिवाना गर्ने र दोहोरिए दोब्बर जरिवाना गर्ने निर्णय गरेको थियो ।
प्रयोग मात्रै होईन बिक्री बितरणमा पनि रोक लगाउने निर्णय गरेको छ । सोही अनुसार महानगर प्रहरीले साउन महिनाभर सचेतना अभियान चलाएको थियो । उसले गत ९ साउनमै पत्रकार सम्मेलन गरी १ भदौ देखि जरिवानासहितको कार्वाही अघि बढाउने बताएको थियो । सोही अनुसार (हिजो) १ भदौ देखि महानगर एक्सनमा उत्रिएको हो ।
‘साउन महिनाभर हामीले कानूनबारेमा बतायौँ र सम्झाइ–बुझाइ गर्यौँ, भदौ सूरु भएपछि एक्सनमा गएका हौँ,’ पाण्डेले भने । त्यसो त नगर प्रहरी टिमले धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन रोक्न गस्तीसमेत थालेको छ ।
महानगरपालिकाका राजस्व विभाग प्रमुख दीपक अधिकारीले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ का आधारमा यस्तो नियम लागू गरिएको बताए ।
‘स्वास्थ्यसँँग जोडिएकाले यो नियम कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्यविद्बाट अनुरोध पनि आएको थियो, कतिपय कुरा कानुनभन्दा पनि समाज निर्माणका लागि गर्नुपर्छ,’ उनले भने, ‘१ साउनदेखि यो नियम कार्यान्वयनमा आइसकेको छ, १ भदौ देखि जरिवानासहित थप कडाई गरिएको हो । यसको जिम्मा नगरप्रहरीलाई दिइएको छ ।’
कहाँ कहाँ गर्न पाईदैन धूमपान ?
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ ले नै सार्वजनिक स्थल भनेर किटान गरेको छ । त्यसैलाई आधार मानेर महानगरपालिकाले धूम्रपान बिक्री बितरण तथा प्रयोग निषेधित क्षेत्र बनाएको हो ।
ऐनअनुसार सार्वजनिक स्थल भन्नाले राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कल–कारखानाका कार्यस्थल, चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटेल, मोटेल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लजमा धूमपान गर्न पाईदैन । यस्तै शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीसाधन, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, छात्र वा छात्रावास तथा अतिथिगृह, रंगशाला, कभर्ड हल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिपार्टमेन्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल, सार्वजनिक सवारीका प्रतीक्षालय तथा टिकट काउन्टर, पार्क, सडक चोक, पोखरी, सम्पदालगायत क्षेत्र पर्छन् ।
यी स्थानमा धूमपान गरेको पाईए महानगरपालिकाले सुरुमै ५०० रुपैयाँ जरिवाना तिराउँछ ।
सम्पर्क इमेल : [email protected]
Thanks for action to Metro KTM