प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउनु पर्ने पक्षमा स्वास्थ्य मन्त्री पौडेल
भक्तपुर, २८ साउन । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई छुट्टै प्रतिष्ठान बनाउनुपर्ने बताएका छन् ।
विश्व अङ्गदान दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले प्रत्यारोपण केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गरि, दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रुपमा समेत विकास गर्नु पर्नेमा आफू रहेको स्पष्ट पारे ।
‘मैले यस केन्द्रलाई प्रतिष्ठान बनाउनु पर्छ भनेर पहिले देखि नै भन्दै आएको छु । अर्को प्रतिष्ठान क्यान्सर अस्पताललाई पनि बनाउन सकिन्छ । किनभने अहिले हामीलाई १४ वटा प्रतिष्ठान आवश्यक छ । तर हालसम्म आठ वटा मात्रै छन् । अझ् केही वर्षमा २१ वटा पुर्याउनु पर्छ,’ उनले भने ।
तर उनले प्रतिष्ठानको खर्च घटाउनका लागि प्रतिष्ठान सम्बन्धि एकीकृत ऐन ल्याइएको जानकारी दिए ।
मन्त्री पौडेलले आवश्यकताको २० प्रतिशत पनि अङ्गदान हुन नसकेको भन्दै अङ्ग प्रत्यारोपणका नीति नियमलाई दुरुपयोग नहुने गरी खुकुलो बनाउनुदै लैजानुपर्नेमा जोड दिए ।
उनले अङ्गदान बढाउनका लागि जनचेतना बिस्तार गर्नु पर्ने बताए ।
कार्यक्रममा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले विगतको तुलनामा अङ्गदानमा सुधार भएको बताए ।
उनले अस्पतालको आफ्नै जग्गा नभएको र अहिले चलिरहेको भवन समेत अर्को अस्पतालको भन्दै बिरामीको चाप थेग्न मुस्किल भएको बताए । उनले उपयुक्त जग्गा प्राप्त केन्द्रले आफ्नै खर्चमा निर्माण गर्ने क्षमता रहेको समेत बताए ।
सो अवसरमा बोल्दै सांसद दुर्लभ थापाले अङ्गदान सबैभन्दा ठूलो दान भन्दै यसलाई जोगाउनतर्फ पनि लाग्नुपर्ने बताए ।
अर्का सांसद प्रेम सुवालले प्रत्यारोपण केन्द्रको क्षमता विकास गर्नका लागि अघि बढ्नुपर्ने बताए । उनले स्वास्थ्यको जनशक्ति २ हजार बढाएर नपुग्ने भन्दै कम्तिमा १० हजारले बढाउनु पर्ने बताए ।
सम्पर्क इमेल : [email protected]