मिर्गौलाका लागि भारतमा मानव तस्करी गर्ने गिरोह काठमाडौँमा सक्रिय, चार पक्राउ

128
Shares

काठमाडौँ, २२ साउन ।  सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेलको मिर्गौला चोरी गर्ने गिरोहको खोजीमा सक्रिय रहेको नेपाल प्रहरीले काठमाडौं र काभ्रेबाट चार जनालाई पक्राउ गरेको छ।

दुधौली नगरपालिका–१ निवासी ३७ वर्षीय भुजेललाई रोजगारीको प्रलोभन देखाई भारत लगेर मिर्गौला चोरी गरेको घटनामा संलग्न नुवाकोटका परियार थर गरेका ब्यक्तिलाई प्रहरीले सुरुमा पक्राउ गरेको थियो । उनलाई प्रहरीले काठमाडौंको टोखा क्षेत्रबाट नियन्त्रणमा लिएको बताइन्छ। अन्य तीन जनाको भने सनाखत हुँदैछ।

यो घटनाको सुक्ष्म अनुसन्धान गर्न मानव बेचबिखन तथा अनुसन्धान ब्युरो सक्रिय भएको छ । ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले परियारलाई नियन्त्रणमा लिइएको र उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

‘चार जनालाई नियन्त्रणमा लिएका छौं, केही काभ्रे र केहीलाई काठमाडौंबाट पक्राउ गरिएको हो,’ पंगेनीले भने।

यसअघि मिर्गौला निकालिएका भुजेललाई पोखराबाट भारत लगिएको खबर सार्वजनिक भएको थियो । तर ब्युरोको प्रारम्भिक अनुसन्धानले उनलाई काठमाडौंबाटै भारत तर्फ लगेको देखिएको छ ।

‘पोखराबाट भारत तर्फ लगिएको भन्ने थियो, हामीले त्यस्तो पाएनौं, काठमाडौंबाट नै उनलाई लगिएको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ ब्युरो प्रमुख पंगेनीले भने ।

प्रहरीले घटनामा संलग्न अन्य केही ब्यक्तिको पनि निगरानी गरिरहेको छ।

सो घटना बारे मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले मंगलबार बिहानबाट अनुसन्धान सुरु गरेको थियो।

ब्युरोले सिन्धुलीको डकाहा प्रहरी चौकीको सहयोगमा पीडित भुजेललाई काठमाडौं ल्याएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

भुजेललाई भारत लैजाने सम्भावित व्यक्ति पहिचान भएपछि उनलाई रेडक्रसको एम्बुलेन्समा एक जना प्रहरीको साथमा काठमाडौँ ल्याइएको थियो।

घटनामा अन्य थप रहस्य पनि खुलेको प्रहरी स्रोत बताउँछ।

सिन्धुलीका भुजेलबाहेक अन्य केही ब्यक्तिको समेत मिर्गौला चोरी गरिएको हुन सक्ने प्रहरीको आँकलन छ।

भुजेलको घटनापछि नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरो मिर्गौला चोरी र तस्करीमा संलग्न गिरोहसम्म नै पुग्न सफल भएको बताइन्छ। यद्धपी घटनाको थप विवरण र रहस्य प्रहरीले खुलाइसकेको छैन।

परिवार निकटकाहरु भने भुजेललाई भारतबाट काठमाडौं ल्याएर बसपार्कमा छाडेपछि उनी पहिले मजदुरी गर्ने साथीकोमा पुगेको र त्यसपछि सिन्धुलीस्थित घर पुगेपछि घटनाबारे जानकारी पाएको बताउँछन।

भुजेलले पेटको कम्मरतर्फको भागमा टाँका लगाइएको घाउ थियो। उनले घाउ भएको ठाउँमा दुखाइ महसुस गरेर आफन्तलाई सुनाएका थिए।

त्यसपछि मिर्गौला झिकिएको आशंका भएको थियो भने नजिकको अस्पताल पुगेर एक्सरे गरेर हेर्दा स्थानीय चिकित्सकले एउटा मिर्गौला नरहेको भन्दै प्रहरीलाई खबर गरिदिएका थिए।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *