कच्चा पदार्थ र गुणस्तरको विषयमा उद्योग र पैठारीकर्तालाई विभागको १० बुँदे निर्देशन
काठमाडौँ, २२ साउन । औषधी व्यवस्था विभागले मुख्य कच्चा पदार्थ र औषधीको गुणस्तरका विषयमा उत्पादकहरुलाई १० बुँदे निर्देशन दिएको छ।
औषधी र यसको कच्चा पदार्थको गुणस्तर सुनिश्चित गर्न गत १८ साउनमा विभागीय निर्णय भएको भन्दै विभागले बुधबार अत्यन्त जरुरी सूचना जारी गरेको हो ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालको हस्ताक्षर रहेको सूचनामा औषधी उद्योग र पैठारीकर्ताहरुले अबदेखि कच्चा पदार्थको स्रोत, स्तर, गुणस्तर र औषधीको अन्य वैज्ञानिक पक्षहरूमा तोकिएको मापदण्ड पालना गर्नुपर्ने भनिएको छ ।
विभागले औषधी उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थहरु (एपीआई) को गुणस्तरमा एकरूपता र पारदर्शिता कायम गर्न जीएमपी प्रमाणपत्रसहित अधिकतम तीनवटा स्रोतको विवरण पेश गर्नुपर्ने व्यवस्था लागू गरेको छ। साथै,नन फर्माकोपिकल एफीआईको हकमा उत्पादन अनुमति माग गर्दा एनालाइटिकल मेथड भ्यालिडेसनसहितको एपीआई मास्टर फाइल (एपीआईएमएफ) पेश गर्नुपर्ने बताइएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा हालै प्रकाशित कार्यपत्र अनुसार अब ओरल लिक्युड प्रिपेरेसन मा डायथेलेन ग्लाइकल र इथाइलेन ग्लाइकल को परीक्षण अनिवार्य गरिएको छ।
विभागका महानिर्देशक ढकालले औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारितालाई अझ मजबुत बनाउन उक्त निर्णय लिइएको बताएका छन्। विभागले सम्पूर्ण औषधि उत्पादक र पैठारीकर्तालाई यो निर्देशन पालना गर्न भनेको छ ।
सम्पर्क इमेल : [email protected]