विशेषज्ञ चिकित्सक बन्ने लाइसेन्स परीक्षामा  ‘रेकर्ड तोड’ नतिजा

भर्खरै पढेर आएका व्यक्तिहरुका लागि प्रश्न सजिलो भयो कि ? - काउन्सिल अध्यक्ष प्राडा भुसाल
784
Shares

काठमाडौँ, १९ साउन ।  नेपाल मेडिकल काउन्सिलले गत १५ र १६ साउनमा लिएको चिकित्सकहरुको विशेष परीक्षा (स्पेशल एक्जाम)मा ‘रेकर्ड तोड’ नतिजा निस्किएको छ ।

काउन्सिलका अनुसार यसपटक सो परीक्षामा सहभागीमध्ये ९१.८२ प्रतिशत उत्तीर्ण भएका छन् ।

यो गतवर्ष साउनमा लिइएको परीक्षाको नतिजा भन्दा सून्य दशमलम ३७ प्रतिशतले बढी हो । त्यसैले पनि यसपटकको नतिजाले गतवर्षको रेकर्ड भङ्ग गर्दै ‘ऐतिहासिक रेकर्ड’ कायम गरेको छ ।

काउन्सिल रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार यसपटकको परीक्षाका लागि कुल एक हजार ७९ जनाले फारम भरे पनि एक हजार ७६ जना सहभागी थिए । ती मध्ये ९९८ जना (९१.८२ प्रतिशत) उत्तीर्ण भएका छन् । ४ जनाको नतिजा वीथहेल्डमा राखिएको थियो ।

विशेष परीक्षा उत्तीर्ण गरेपछि विशेषज्ञ चिकित्सकको रुपमा आधिकारिता प्राप्त हुने गर्दछ । यसपटक परीक्षामा कुल ३६ विषयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

गतवर्ष साउनको १७ र १८ गते लिइएको परीक्षामा ९१.४५ प्रतिशत उत्तीर्ण हुँदा चिकित्सा वर्गमा ठूलो चर्चाको विषय भएको थियो । यस पटक त्यसलाई समेत उछिनेर ९१.८२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

संयोग के पनि देखिन्छ भने अघिल्लो वर्ष र यसवर्ष साउनमा भएको परीक्षाको नतिजामा खासै ठूलो भिन्नता छैन । परीक्षामा सहभागी संख्या समेत साउन महिनामा धेरै हुने गरेको छ । धेरै सहभागी भएकाबेला नतिजा समेत धेरै बढेर आउँदा चर्चाको विषय बनेको हो ।

काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुसाल गतवर्ष जस्तै यसपटक पनि साउनको परीक्षामा धेरै पास भएको बताए । ‘साउनमा परीक्षा दिनेहरु भर्खरै पास आउट भएकाहरु हुन्छन् । फ्रेस भएका कारणले पनि नतिजा राम्रो आएको होला । परीक्षा त सहज ढंगले नै चलेको हो,’ उनले भने ।

परीक्षामा धेरै सजिलो प्रश्न सोधिएर त होईन ? अर्को प्रश्नको जवाफमा अध्यक्ष डा भुसालले भने, ‘विज्ञ टोलीले तयार गरेको सिस्टमबाट प्रश्न सोधिने हो । पढेका व्यक्तिका लागि प्रश्न सजिलो भएको पनि हुनसक्छ ।’

परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानमा सञ्चालन गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *