जन्मदर बढाउन चीनको नयाँ नीति : तीन सन्तान जन्माउने आमा-बाबुलाई १५ सय डलरसम्म भत्ता दिने

काठमाडौँ, १४ साउन । घट्दो जन्मदरको समस्याको सामना गरिरहेको चीनले अब बच्चा हुर्काउन आमा-बाबुलाई भत्ता दिने भएको छ । देशको जनसंख्या वृद्धि रोक्न कुनै बेला ‘एक सन्तान’ को नीति लिएको चीनले घट्दो क्रमलाई रोक्न अहिले ‘तीन सन्तान’को नीति लिएको त छ तर जन्मदर बढेको छैन ।

जन्मदर नबढेपछि अहिले अभिभावकलाई बच्चा हुर्काउन भत्ता दिने योजना ल्याएको हो ।

चिनिया सरकारका तर्फबाट सोमबार राष्ट्रव्यापी रूपमा लागू हुने गरी ‘सब्सिडी’ कार्यक्रमको घोषणा गरिएको छ । चीनको राज्य परिषद्का अनुसार सरकारले प्रति सन्तान प्रत्येक परिवारलाई हरेक वर्ष ३ हजार ६ सय युआन (५०३ अमेरिकी डलर) दिने घोषणा गरेको छ । । यो योजना छोराछोरी ३ वर्ष हुन्जेल सम्मका लागि र ३ जना सन्तानसम्मका लागि लागू हुने छ ।

यो योजनाबाट हरेक वर्ष करिब २ करोड परिवार लाभान्वित हुने पनि परिषद्ले जनाएको छ । देशको जन्मदर र कुल नवजात शिशुहरूको संख्या ७ वर्ष लगातार घटेपछि सन् २०२४ मा सामान्य सुधार देखिएको थियो ।

सोही वर्षको अन्त्यमा गणना गर्दा ६० वर्षभन्दा माथिका चिनियाँ नागरिकको संख्या ३ करोड १० लाख पुगेको थियो ।

विश्वमै सबैभन्दा बढी जनसंख्या भएको मुलुकमध्येमा परे पनि चीनले दुई प्रकारको जनसांख्यिकीय चुनौतीको सामना गर्दैछ । पहिलो: नवजात शिशुहरूको संख्या घट्दै जानु, दोस्रो: पाका उमेरको जनसंख्या तीव्र रूपमा बढ्नु ।

चीनको राज्य परिषद्ले हालै सार्वजनिक गरेको निर्णयअनुसार, बालबालिका हुर्काउने जिम्मेवारी बोकेको परिवारलाई दिइने यो भत्ता करयोग्य आम्दानीमा गणना नहुने र अन्य सामाजिक सेवा वा सहायता योजनामा प्रभाव नपार्ने बताइएको छ ।

सन् २०१६ मा ‘एक सन्तान’ नीति हटाएर ‘दुई सन्तान’ र सन् २०२१ मा ‘तेस्रो सन्तान’ नीति ल्याएको चीनमा जन्मदर घट्ने क्रम रोकिएको छैन ।

यस्तो स्थितिमा सरकारको यो नयाँ कार्यक्रमलाई जन्मदर बढाउने र परिवारलाई आर्थिक रूपमा सहयोग पुर्‍याउने उद्देश्यले ल्याइएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *