शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिना मै भयो ३० जनाको मिर्गौला प्रत्यारोपण

भक्तपुर, १३ साउन । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गत असार महिनामा मात्रै ३० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । केन्द्रले ती सबै प्रत्यारोपणहरु सत प्रतिशत सफल भएको जनाएको छ ।

‘एक महिनामा यति धेरै संख्यामा मिर्गौला प्रत्यारोपण हुने अस्पतालहरु संसारमै बिरलै हुन्छन् । तसर्थ पनि केन्द्रले ईतिहास रचेको छ,’ केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अगाडी थपे ‘केन्द्रको आफ्नै एक इन्च भवन नभएको र कर्मचारीहरुको न्युनतम पारिश्रमिकताका बाबजुत केन्द्रले देशको दुई तिहाइ प्रत्यारोपण गर्ने गरेको छ र यहाँबाट सञ्चालित सेवा विश्वस्तरीय छ ।’

हुन पनि अहिले केन्द्र भक्तपुर अस्पतालले उपलव्ध गराएको भवनमा सेवा दिन बाध्य छ । बिरामीको चापका कारण सो भवन अहिले साँघुरो भएको छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/ ८२ मा मात्र केन्द्रले १८६ जनाको मिर्गौला र ८ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ। उक्त आर्थिक वर्षमा केन्द्रकै नेतृत्वमा प्रादेशिक अस्पताल सुर्खेतमा ३, पोखरामा ३ र भेरी अस्पतालमा २ जनाको मिर्गौला प्रत्यारोपण समेत भएको थियो ।

यसैगरी सोही आर्थिक वर्षमै एक जना मस्तिष्क मृत ब्यक्तिबाट प्राप्त एउटा मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलताका साथ प्रत्यारोपण समेत गरिएको थियो ।

प्रत्यारोपणमा कुन उमेर समूहका कति ?

केन्द्रमा मिर्गौला प्रत्यारोपण भएका १८६ बिरामीहरुको उमेर समूह १४ वर्ष देखि ७१ वर्षको सम्मको रहेका छन् । जसमा १५५ जना (झण्डै ८० प्रतिशत) ग्रहण कर्ताहरुको उमेर समूह २० देखि ४९ वर्षको रहेको छ ।

यस्तै मिर्गौला ग्रहणकर्ता मध्ये १३६ जना पुरुष करीब (७३ प्रतिशत) र ५० जना महिला ( करीब २७ प्रतिशत) महिला छन् । अंगदाताहरुमा १३० जना जना महिला (७० प्रतिशत) र ५५ जना पुरुष ( ३० प्रतिशत) छन् ।

प्रत्यारोपण प्रदेश अनुसार

गत आर्थिक वर्षमा देशको सात प्रदेशहरूबाट केन्द्रमा उपचार गर्न आएका विरामीहरुमध्ये बागमती प्रदेशबाट सबैभन्दा धेरै ३२ प्रतिशत, कोशी प्रदेशबाट २७ प्रतिशत, लुम्बिनी प्रदेशबाट ११ प्रतिशत, गण्डकी प्रदेशबाट १३ प्रतिशत, मधेश प्रदेश बाट १० प्रतिशत, सुदुर पश्चिम प्रदेशबाट २ प्रतिशत र कर्णाली प्रदेशबाट ५ प्रतिशत बिरामीहरू केन्द्रमा उपचारको लागि आएका थिए ।

जातजाती अनुसार

केन्द्रमा देशको विभिन्न भु(भागबाट सबै जातजातीहरु प्रत्यारोपणको लागि आउने गरेका छन् जसमा आदीबासी जनजातीहरु सबैभन्दा धेरै ५२ प्रतिशत, ब्रामण क्षेत्री २६ प्रतिशत, मधेशी ११ प्रतिशत, दलित ९ प्रतिशत, मुश्लिम २ प्रतिशत प्रत्यारोपण भएको छ ।

केन्द्र स्थापनाको १३ वर्ष पुगेको छ । यस अवधीमा मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सकको रुपमा परिचित कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा हाल सम्म १ हजार ४७१ जनाको मिर्गौला र ३४ जनाको कलेजो प्रत्यारोपण भइ सकेको छ ।

डा श्रेष्ठका अनुसार सरकारको सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुसार केन्द्रले चार प्रदेशमा प्रत्यारोपण सेवा शुरु गरि सकेको छ । ती प्रदेशहरुमा बागमती, गण्डकी, कर्णली, लुम्बिनी रहेका छन् । बाँकी तीन वाटा प्रदेशमा पनि निकट भविष्यमा प्रत्यारोपण गर्ने योजना बनाएको छ ।

तर प्रत्यारोपणको लागि आवश्यक विशेषज्ञ जनशक्ति तालीम दिनको लागि केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने नेपाल सरकारको घोषणा कार्यान्वयनमा भएको छैन । यस्तै उपयुक्त जग्गा प्राप्त नहुँदा केन्द्र स्वयंले ५०० बेड क्षमताको भवन बनाउने योजना अलपत्र परेको डा श्रेष्ठले बताए ।

केन्द्रले भक्तपुर इट्टा टायल कारखाना रहेको जग्गा, सल्लाघारीमा रहेको नेपाल ट्रष्टको जग्गा तथा चाँगुनारायण नगरपालिका ८ नं सुडालको जग्गा मध्ये कुनै एक ठाउँको जग्गा उपयुक्त हुने बताएको छ । ती ठाउँमा जग्गा उपलब्ध भएमा केन्द्रले आफ्नै स्रोत साधनबाट भबन बनाई वर्षेनी ५०० जना सम्मको मिर्गौला प्रत्यारोपण र कम्तीमा ५० जनाको कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । जसबाट देशको अरबौ रुपैयाँ बचत हुने समेत देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *