आठ वटा कडा रोग लागेका बीमितले अब दुई लाख रुपैयाँसम्मको उपचार सहुलियत पाउने
क्यान्सर लागेका लुम्बिनी प्रदेशका बीमितको उपचार सहुलियत पाँच लाख रुपैयाँ पुग्ने
काठमाडौँ, २५ असार । स्वास्थ्य बीमा गरेका व्यक्ति कडा रोगको संक्रमणमा परेमा अब दुई लाख रुपैयाँ सम्मको उपचार सहुलियत पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डको मंगलबार बसेको बैठकले स्वास्थ्य बीमा नियमावली २०७५ मा भएको व्यवस्था अनुसार कडा रोगको संक्रमणमा परेका बीमितलाई १ साउन देखि लागू हुने गरी थप एक लाख रुपैयाँ उपचार सहुलियत उपलव्ध गराउने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले नियमावलीमा भएको व्यवस्थालाई ढिलै भए पनि कार्यान्वयनमा ल्याउने निर्णय भएको बताए । ‘खासमा यो छ वर्ष अघि नै लागू हुनु पर्ने थियो । विविध कारणले रोकिएको रहेछ । यसपटक हामीले नियमावलीमा भएको व्यवस्था कार्यान्वयनमा ल्याउने निर्णय गरेका हौँ,’ उनले भने ।
यसअघि असारको पहिलो साता स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था अनुसार कडा रोगका बिरामीलाई उपचार सहुलियत थप गर्न स्वास्थ्य बीमा बोर्डलाई निर्देशन दिएका थिए । मन्त्रीको निर्देशन पछि बोर्डले बैठकमा यो विषय राखि आवश्यक निर्णय गर्ने बताएको थियो ।
के छ नियमावलीमा ?
स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १७ मा सुविधा सम्वन्धी व्यवस्था रहेको छ । त्यसको उपनियम २ मा ‘बीमितले देहाय बमोजिमको रकमको हदसम्म मात्र सेवा प्राप्त गर्न सक्नेछ’ भनिएको छ ।
त्यसको खण्ड (घ)मा खण्ड (ग) बमोजिमको सुविधा नदोहोरिने गरी सम्वत २०७६ साल साउन १ देखि लागू हुने गरी बीमितलाई अनुसूची ६ मा उल्लिखित रोगहरुको उपचारको लागि थप एक लाख रुपैयाँसम्म भनिएको छ ।
खण्ड (ग) मा ‘सत्तरी वर्ष उमेर नाघेका जेष्ठ नागरिकले मात्र उपयोग गर्ने गरी एक लाख रुपैयाँसम्म’ भनिएको छ ।
स्वास्थ्य बीमा बोर्डले खण्ड (ग) पहिले देखि नै कार्यान्वयनमा ल्याईसकेको छ । तर, कार्यान्वयनको मिति नै तोकिएको भए पनि घण्ड (घ) मा भएको व्यवस्था अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।
मन्त्रालयले यसपटक घण्ड (घ)लाई कार्यान्वयनमा ल्याउन खोजेको हो । अर्थात अब ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकले पाउने सुविधा कडा रोग लागेका व्यक्तिले पनि पाउने छन् । तर, यी दुई सुविधा दोहोरो हुने छैन ।
कुन कुन रोगका लागि उपलव्ध हुन्छ थप एक लाख रुपैयाँ ?
उल्लेखित नियमावलीको नियम १७ खण्ड (घ)मा ‘अनुसूची ६ मा उल्लेखित रोगहरुको उपचारका लागि थप एक लाख रुपैयाँसम्म सहुलियत उपलव्ध हुने’ भनिएको छ ।
सो अनुसूचीमा क्यान्सर, मुटुरोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सन्स र अल्जाइमर्स रोगहरुको उपचारका लागि थप एक लाख रुपैयाँ दिन सकिने उल्लेख छ ।
क्यान्सर लागेका लुम्बिनी प्रदेशका बीमितको उपचार सहुलियत पाँच लाख रुपैयाँ पुग्ने
स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था कार्यान्वयनमा आएमा अब स्वास्थ्य बीमा गरेका लुम्बिनी प्रदेशका क्यान्सर बिरामीले एक पटकका लागि पाँच लाख रुपैयाँसम्म उपचार सहुलियत प्राप्त गर्ने छन् ।
कडा रोगको सूचीमा क्यान्सर पनि पर्ने भएको र उनीहरुलाई स्वास्थ्य बीमा बोर्डबाट थप एक लाख रुपैयाँ उपलव्ध हुने भएमा दुई लाख रुपैयाँ हुनेछ ।
त्यसबाहेक संघीय सरकारले विपन्न नागरिक उपचार कोषबाट थप एक लाख रुपैयाँ सहुलियत दिने गरेको छ ।
यस्तै प्रदेश सरकारले थप दुई लाख रुपैयाँ दिने गरेको छ । यस हिसावले कुल पाँच लाख रुपैयाँसम्मको उपचार सहुलियत मिल्ने भएको हो ।
अन्य प्रदेशमा भने दुई लाख रुपैयाँ सहुलियत पुगिसकेको छैन ।
यसैबीच स्वास्थ्य मन्त्री पौडेलले बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै पूर्व प्रतिवद्धता अनसाुर १ साउन देखि ८ वटा कडा रोग लागेका बीमितलाई दुई लाख रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्ने व्यवस्था मिलाएको उल्लेख गरेका छन् ।
उनले आफू स्वास्थ्य बीमालाई थप परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिबृद्धि गराउन निरन्तर प्रयत्नशील रहेको उल्लेख गरेका छन् ।
सम्पर्क इमेल : [email protected]
कोरोनाको बीमा रकम पनि दिने व्यवस्था गरे राम्रो हुनेथियो।नपाउने अन्यायमा परे ।