खानेपानीमा इकोली जीवाणु फेला
काठमाडौँ, २० असार । दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि घातक हुने इकोली जीवाणु पाइएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट सङ्कलन गरिएको नमूनामध्ये चार स्थानको पानीमा इकोली जीवाणु फेला परेको हो ।
स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख वीरेन्द्रप्रसाद भट्टका अनुसार दूषित पानीकै कारण पानीमा इकोली देखिएको पुष्टि भएको छ ।
पछिल्लो दुई सातादेखि धमिलो पानी आउने गुनासो बढेपछि मुहान अनुगमन र पानी परीक्षण गरिएको थियो । इकोली जीवाणु मानव वा जनावरको मलजन्य दूषित पानीमा पाइने गरेको भट्टको भनाइ छ ।
पानीको मूल स्रोत, प्रशोधन युनिट र उपभोक्ताको धारासम्मको पानीमा इकोली पाइएको स्वास्थ्य कार्यालय प्रमुख भट्टको भनाइ छ । पानी प्रयोग गर्दा उपभोक्ता सचेत हुनु आवश्यक रहेको उनले बताए ।
पानीमा क्लोरिनको मात्रासमेत राष्ट्रिय खानेपानी गुणस्तर निगरानी निर्देशिका, २०७० र प्रथम संशोधन, २०७६ को मापदण्डअनुसार नभएको भन्दै नियमित रूपमा क्लोरिन मिसाएर मात्रै पानी वितरण गर्न खलङ्गा सहरी खानेपानी आयोजनालाई सुझाव दिइएको छ ।
सम्पर्क इमेल : [email protected]