स्वास्थ्य बीमा कार्यक्रम : बीमितका लागि अब देशभरका प्रथम सेवा बिन्दु खुल्ला
काठमाडौँ, १९ असार । यसअघि स्वास्थ्य बीमा गरेका व्यक्ति (बीमित) हरुले तोकिएकै ठाउँको प्रथम सेवा बिन्दुबाट मात्रै प्रथम सेवा लिनु पर्दथ्यो । तर अब भने बीमितहरुले यस्तो सेवा लिन तोकिएकै ठाउँको प्रथम सेवा बिन्दुमा धाई रहनु पर्ने छैन ।
स्वास्थ्य बीमा बोर्डले गत १७ बैशाखको मन्त्रिपरिषद्को निर्णयलाई टेकेर आउँदो १ साउन देखि प्रथम सेवा बिन्दु बीमितका लागि खुल्ला गरिदिएको छ ।
अर्थात, अब स्वास्थ्य बीमा गर्दा तोकिएको प्रथम सेवा बिन्दुमा पुग्न आवश्यक छैन । आफू बसेको ठाउँबाट नजिक रहेको प्रथम सेवा बिन्दुबाट सो सेवा लिन सकिने छ ।
बोर्डका सूचना अधिकारी विकेश मल्ल ठकुरीले लागू हुन लागेको नयाँ व्यवस्थाबारे उदाहरण दिदै भने, ‘ मानौँ एक जना पाल्पाको व्यक्तिले गाउँमा स्वास्थ्य बीमा गरे र त्यहाँ प्रथम सेवा बिन्दु तोके तर काठमाडौँ आउँदा उनलाई स्वास्थ्य जाँच गर्नुपर्ने अवस्था आयो भने अब ती व्यक्तिले प्रथम सेवा बिन्दु तोकिएका काठमाडाँैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य बीमा अन्तर्गतको उपचार सेवा प्रारम्भ गर्न सक्नेछन् । यस्तै काठमाडौँमा प्रथम सेवा बिन्दु राखेको बीमितले काम विशेषले झापामा रहेका बेला स्वास्थ्य जाँच गर्न परेमा अब ती व्यक्तिले त्यहाँ तोकिएको प्रथम सेवा विन्दुमा पुगेर उपचार सेवा लिन सक्नेछन् ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत १७ बैशाखको मन्त्रिपरिषद् बैठकले आफू रहेकै स्थानमा प्रथम सेवा विन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने निर्णय गरेको थियो ।
बिहीबार (आज) बोर्डले जारी गरेको सूचनामा स्वास्थ्य बीमा बोर्डबाट प्रथम सेवा विन्दुको रुपमा काम गर्ने गरी अनुमति प्राप्त गरेका जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाईएको उल्लेख छ ।
सम्पर्क इमेल : [email protected]