भारतमा एक औषधी उद्योगमा विस्फोट हुँदा ३४ जनाको मृत्यु, ३० बढी घाईते
भारत । तेलंगानाको संगारेड्डी जिल्लामा रहेको औषधि कारखानामा सोमबार भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । उद्धारकर्मीहरूले क्षतिग्रस्त स्थलबाट भग्नावशेष हटाउने काम जारी राखेका छन्।
संगारेड्डीका प्रहरी प्रमुख परितोष पंकजले मंगलबार पशामिलारामस्थित सिगाची इन्डस्ट्रिज फार्मा प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या ३४ पुगेको पुष्टि गरे। “भग्नावशेषबाट ३१ जनाको शव निकालिएको छ र अन्य तीन जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। उद्धार कार्यको अन्तिम चरण अझै जारी छ,” डीएसपी पंकजले समाचार एजेन्सी पीटीआईलाई भने।
सो घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् ।
रिएक्टर भित्र रासायनिक प्रतिक्रिया भएर हुनसक्ने आशंका गरिएको विस्फोट सोमबार बिहान ८ :१५ देखि ९:३५ बजेको बीचमा भएको थियो।
विस्फोटले औद्योगिक शेडलाई उडाएको थियो भने त्यस भित्र डिउटीमा रहेका कामदारहरु परेका थिए । विस्फोट पछि आगो लागेको थियो ।
घटनापछि राष्ट्रिय विपद् प्रतिक्रिया बल , राज्य विपद् प्रतिक्रिया बल, स्थानीय अग्निनियन्त्रक कर्मचारी र प्रहरीहरु उद्धार र अग्नि नियन्त्रण कार्यका लागि खटिएका थिए । आगलागी नियन्त्रणमा लिन दुईवटा अग्नि नियन्त्रक रोबोटहरू पनि प्रयोग गरिएको बताइएको छ ।
तेलङ्गानाका मुख्यमन्त्री ए रेवन्त रेड्डीले आज घटनास्थलको भ्रमण गर्ने कार्यक्रम छ। स्वास्थ्यमन्त्री सी दामोदर राजनरसिंहाले रेवन्त रेड्डीको भ्रमणको पुष्टि गर्दै राज्य सरकारले सबै आवश्यक स्रोतहरू परिचालन गरेको बताए।
सिगाची इन्डस्ट्रीज लिमिटेडले आफ्नो उत्पादन पूर्वाधारमा व्यापक क्षति भएको भन्दै ९० दिनको लागि संगारेड्डी प्लान्टमा सञ्चालन अस्थायी रूपमा स्थगित गरेको छ।
कम्पनीले आफ्नो वेबसाइटका अनुसार सक्रिय औषधि सामग्री (एपीआई), मध्यवर्ती, सहायक पदार्थहरू उत्पादन गर्छ र सञ्चालन र व्यवस्थापन सेवाहरू प्रदान गर्दछ।
यता राज्य सरकारले विस्फोटको कारण अनुसन्धान गर्न र सुरक्षा उपायहरू सिफारिस गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि समवेदना व्यक्त गर्दै पीडित परिवारका लागि सहायता दिने घोषणा गरेका छन् ।
मोदीले प्रधानमन्त्री राहत कोषबाट तत्काल मृतकका परिवारलाई २ लाख र घाइतेहरुलाई ५० हजारको दरले राहत दिने घोषणा गरेका छन् ।
सम्पर्क इमेल : [email protected]