नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न
ललितपुर, १६ असार । नेपाल स्वास्थ्य प्राविधिक संघले आफ्नो ४७ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । यो संगठन १३ असार २०३६ सालमा स्थापना भएको थियो । ७७ वटै जिल्लामा शाखा रहेको संगठनले सोमबार (आज) जिल्ला शाखा मार्फत देशव्यापी कार्यक्रम गरेको छ ।
स्थापना दिवसकै अवसरमा सोमबार जिल्ला कार्यसमिति ललितपुरले आयोजना गरेको कार्यक्रममा केन्द्रीय अध्यक्ष बसन्तकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष शोभा गौतम, केन्द्रीय महासचिव श्यामकुमार ओली, केन्द्रीय कोषाध्यक्ष कल्पना पाण्डे, सचिवालय सदस्य छिरिङ्गडोमा शेर्पा लगायतको उपस्थिति थियो । उनीहरुले स्थापना दिवसको अवसर पारेर शुभकामना दिएका थिए ।
स्थापना दिवसकै अवसरमा जिल्ला कार्यसमितिले पाटन अस्पतालको जेरियाट्रिक वार्डमा रहेका बृद्धावस्थाका बिरामीहरुलाई फलफुल तथा खाद्य सामग्री वितरण गर्ने योजना रहेको बताइएको छ । शुभकामना आदान प्रदान कार्यक्रम जिल्ला अध्यक्ष हरिशरण थापाको अध्यक्षतामा भएको थियो ।
यता जिल्ला कार्यसमिति काठमाडौँले स्थापना दिवसकै अवसरमा असहाय गाई बाच्छा संरक्षण अभियान गोठटारमा पुगी करिब २२ हजार बराबरको मैदाको पिठो र गाई बाच्छालाई आवश्यक पर्ने घाँस उपलव्ध गराएको थियो । समितिले सो अवसरमा फलफूलका बिरुवा बृक्षारोपण समेत गरेको थियो ।
काठमाडौँको कार्यक्रममा केन्द्रीय सदस्य घनश्याम श्रेष्ठ र सन्तोष कुइकेलले समन्वय गरेका थिए । सो कार्यक्रममा पनि अतिथिको रुपमा उपस्थित केन्द्रीय अध्यक्ष बसन्त कुमार श्रेष्ठ, केन्द्रीय महासचिव ओलीले शुभकामना तथा आफ्नो धारणा राखेका थिए ।
उता काभ्रेमा केन्द्रीय उपाध्यक्ष कमला वाग्लेको प्रमुख आतिथ्यतामा बौद्ध वृद्धाश्रम बनेपामा रहेका जेष्ठ नागरिकलाई खाद्यान्न सामग्री वितरण गरी स्थापना दिवस मनाएको छ । यस्तै जिल्ला शाखा चितवनले उपाध्यक्ष उपाध्यक्ष तोयानाथ दवाडीको प्रमुख आतित्यतामा ९० जना महिलाको भिआइए परीक्षण गरी स्थापना दिवस सम्पन्न गरेको छ।
त्यसैगरी सुनसरी जिल्लाले रामचनाकी वृद्धाश्रममा निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण गरी स्थापना दिवस मनाएको छ ।
उता गुल्मीले तम्घास टेक्निकल शिक्षालयमा अध्ययनरत विद्यार्थी तथा स्वास्थ्यकर्मीबीच अन्तरक्रिया कार्यक्रम र जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरी स्थापना दिवस सम्पन्न गरेको छ।
झापा जिल्लाले घैला डुब्बामा वृक्षारोपण कार्यक्रम गरेको छ भने बर्दियाले स्थापना दिवस बासगढी नगर अस्पतालका बिरामीलाई फलफुल वितरण गरी मनाएको छ।
त्यसैगरी जुम्ला जिल्लाले स्वास्थ्यकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी स्थापना दिवस मनाएको छ भने बाँके र बाग्लुङ जिल्लाले अन्तरक्रिया कार्यक्रम गरी स्थापना दिवस मनाएको समाचार प्राप्त भएको छ।
त्यसैगरी रूपन्देही जिल्लाले अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफुल तथा पोषण वितरण गरी स्थापना दिवस मनाएको छ।
सम्पर्क इमेल : [email protected]