नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि व्यवस्थित ढंगले सघाउने पक्षमा भारत, ‘फ्रेमर्वक’ को मस्यौदा बनाउँदै स्वास्थ्य मन्त्रालय
काठमाडौँ, १६ असार । नेपालले स्वास्थ्य क्षेत्र सुधारका लागि भारतसंग योजनावद्ध रुपमा सहकार्य गर्ने भएको छ । निकट भविस्यमै हुने भनिएको भारतीय स्वास्थ्य मन्त्री जेपी नाड्डाको नेपाल भ्रमणका क्रममा नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि आवश्यक पर्ने मुख्य मुख्य विषयमा सम्झौँता गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘फ्रेमवर्क’ तयार गर्दैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार भारतीय स्वास्थ्य मन्त्री नाड्डाको नेपाल भ्रमण र त्यस क्रममा हुने सम्झौँता सम्बन्धी फ्रेमवर्कको विषयलाई मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ ।
मन्त्रिपरिषद्को ग्रीन सिङ्नल पछि मन्त्रालयले त्यस सहकार्य सम्वन्धी फ्रेमवर्क बनाउन लागि परेको छ । केही नयाँ योजनाहरु छन्, केही पुराना कार्यक्रम तर त्यसलाई मन्त्रालयबाट व्यवस्थित ढंगले अघि बढाउने विषय पनि छन् ।
गत अक्टोबर ७ मा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले भारत भ्रमणको क्रममा आफ्ना समकक्षी नाड्डालाई भेटेका थिए । त्यसबेला द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो भने स्वास्थ्य मन्त्री पौडेलले नाड्डालाई नेपाल भ्रमणको निम्तो दिएका थिए । झण्डै आठ महिना पछि सो विषयले पुन: चर्चा पाएको हो ।
मस्यौदामा के के विषय छन्, के के विषयमा हुँदैछ सम्झौँता ?
मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले भारतीय स्वास्थ्य मन्त्री नाड्डा नेपाल आउने र सो क्रममा स्वास्थ्य क्षेत्र सुधारका लागि केही सहकार्यका प्रस्तावका रुपरेखा (फ्रेमवर्क) मा हस्ताक्षर हुने भन्ने कुरा भएको बताउँदै त्यसका लागि मन्त्रालयले मस्यौदा तयार गरेको बताए । उनका अनुसार सो मस्यौदामा औषधी, स्वास्थ्य पूर्वाधार, तालीम तथा अध्ययन, उपकरण तथा एम्बुलेन्स लगायका विषयहरु समावेस छन् ।
भारतले पछिल्लो पटक सिकलसेल तथा थालेसिमियाको औषधी उपलव्ध गराएको छ । यसलाई निरन्तरता दिने र भोल्युम पनि बढाउने, यस्तै भारतमा उत्पादित औषधी नेपाली नागरिकलाई सुपथ मूल्यमा दिलाउन जि टु जीमार्फत खरीद गर्न सकिने गरी मस्यौदामा प्रस्ताव छ ।
तनहुँको दुलेगौंडामा रहेको जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई ३०० शैय्यामा स्तरोन्नती गर्न आवश्यक पर्ने संरचना निर्माण तथा उपकरणमा सहयोग गर्ने लगायतका विषय छन् ।
यस्तै नेपालका स्वास्थ्यकर्मीलाई भारतमा अध्ययन् तालीम र क्षमता विकासको अवसरका लागि सघाउने छ । यसैगरी, नेपालमा उपचार सम्भव नभएका बिरामीको उपचार भारतमा सहुलियत दरमा प्रदान गर्ने गरी सम्झौता गर्ने नेपालको तयारी छ ।
आयुर्वेद तथा परम्परागत चिकित्सा विज्ञानको विकास र बिस्तारका लागि भारतसंग दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषदले स्वीकृती प्रद्यान गरेको छ । यसबाट भारतको समेत प्राथमिकता रहेको आयुर्वेद विषयमा अब नेपाली स्वास्थ्यकर्मीले भारतमा गई सीप विकास गर्नका लागि अवसर पाउने बाटो खुल्नेछ । यसैगरी भारतले नेपालमा आयुर्वेद र वैकल्पिक जनशक्ति विकास, प्रविधि र सीप हस्तान्तरणमा सघाउने गरी समझदारी गर्ने तयारी अघि बढेको छ ।
प्रवक्ता बुढाथोकीले अब भारतले दुतावास मार्फत विशेष अवसरमा उपलव्ध गराउँदै आएको एम्बुलेन्स लगायतका साधनहरु पनि स्वास्थ्य मन्त्रालयले आवश्यकताका आधारमा गर्ने सिफारिसबाट वितरण हुने गरी व्यवस्था मिलाउन खोजिएको पनि बताए । ‘भारतले हामीलाई धेरै सहयोग गरिरहेको छ । गरेका सहयोगलाई अझ व्यवस्थित गरौँ भन्ने हो,’ डा बुढाथोकी बताए ।
सम्पर्क इमेल : [email protected]