कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष प्राडा गिरीको आवेदन
काठमाडौँ, ११ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि चिकित्सा शिक्षा आयोगका पूर्व उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले समेत आवेदन दिएका छन् ।
उनी २६ भदौ २०७६ देखि २६ भदौ २०८० सम्म (चार वर्ष) चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष थिए ।
गत बुधबार (४ असारमा) उपकुलपति रिक्त रहेका कर्णाली सहित पोखरा, पाटन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसहित चार प्रतिष्ठानमा उपकुलपति बन्नका ईच्छुकहरुले एक साता भित्र आवेदन गर्नु भन्दै सूचना जारी भएको थियो ।
तोकिएको अवधी मंगलबार (हिजो) सम्म ५५ जनाको आवेदन परेको छ । त्यै ५५ जना मध्ये एक जना प्राडा गिरी हुन् ।
‘हो, मैले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवेदन दिएको हुँ,’आवेदनबारे स्पष्ट हुन खोज्दा सुरुमै उनले भने ।
उपाध्यक्ष भईसकेको व्यक्ति कर्णालीमा फेरी किन ? ‘धेरैले आश्चर्य मान्नु भएको पनि छ । उपकुलपति भन्दा माथिल्लो तहमा पुगेको व्यक्ति पुन: किन उपकुलपतिमा आश गरेको भनेर । तर मैले उपाध्यक्षको पदावधी सकिएपछिको खाली समयमा केही अध्ययन् गरे त्यसको कार्यान्वयन कसरी गर्न सकिन्छ भनेर योजना बनाएँ, त्यसैको आधारमा म अब कर्णाली जानु पर्छ भनेरै आवेदन दिएको हुँ,’ दोस्रो प्रश्नमा उनको जवाफ थियो ।
चार प्रतिष्ठानमध्ये कर्णाली नै किन ? तेस्रो प्रश्नको जवाफ पुरा हुन नपाउँदै उनले भन्न सुरु गरिहाले, ‘खासमा अरु प्रतिष्ठानमा अब गएर धेरै सुधार गर्न सकिदैन । तर कर्णाली भर्खर सुरु भएको हो । त्यहाँ गएर उसलाई सही ट्रयाकबाट हिडाउन सकिन्छ भन्ने मेरो मान्यता हो । त्यसैले मैले यो प्रतिष्ठान रोजेको हुँ ।’
उनले पछिल्लो समय धेरै माग हुने योग विज्ञानका कक्षा, कर्णालीको भौगोलिक बनावट र सहज स्वास्थ्य सेवा पहुँचका लागि प्रतिष्ठानले गर्न सक्ने कामका बारेमा समेत कार्ययोजना बनाई आवेदनमा पेश गरेको बताएका छन् ।
पछिल्लो समय वीर अस्पताल, नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुँदै चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनेर एउटा उचाई हासिल गरिसकेका गिरीलाई प्रतिष्ठानको उपकुलपति पदमा छनौट समिति र सरकारले पत्याउने हो कि होईन त्यो भने आगामी दिनले बताउने छ ।
सम्पर्क इमेल : [email protected]