ईडीसीडी अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा छुट्टिएन तर प्रमुख भने दुई जना

काठमाडौँ, ९ असार । गत वैशाखको अन्तिम तिर स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले नसर्ने रोग र मानसिक स्वास्थ्य शाखालाई छुट्याउने तयारी गरेको थियो ।

इडीसीडीले ठूलो समस्याको रुपमा देखिन थालेको नसर्ने रोग र मानसिक स्वास्थ्यका विषय एउटै शाखाले थेग्न नसक्ने भन्दै छुट्टा छुट्टै शाखाको रुपमा सञ्चालन गर्न खोजेको थियो । तर ईडीसीडीको सो योजना सफल हुन सकेन् ।

छुट्टिने योजना सफल नभए पनि ईडीसीडीले नसर्ने रोग र मानसिक स्वास्थ्य शाखा हेर्न छुट्टा छुट्टै अधिकृत खटाएको छ ।

‘शाखा छुट्याउन अघि झन्झट नै गर्नु पर्ने रहेछ, ओएनएम सर्भे, अर्थ मन्त्रालयको सहमति आदि थुप्रै कुराहरु मिलाउनु पर्ने रहेछ । त्यसैले छुट्टा छुट्टै शाखा बनाउन अहिलेलाई सकिएन तर एउटै शाखा भएपनि नसर्ने रोग र मानसिक स्वास्थ्य हेर्नका लागि दुई वरिष्ठ अधिकारीहरुलाई छुट्टा छुट्टी टिम बनाएर जिम्मेवारी तोकिएको छ,’ ईडीसीडीका निर्देशक डा. चन्द्रभाल झाले भने ।

उनका अनुसार अहिले नसर्ने रोग हेर्नका लागि डा. पोमावती थापाको नेतृत्वमा तीन जना कर्मचारी र मानसिक स्वास्थ्य हेर्नका लागि डा. फणिन्द्र बरालको नेतृत्वमा तीन जना कर्मचारी तोकिएको छ ।

यसले काममा सजिलो हुने विश्वास लिईएको छ ।

अहिलेसम्म ईडीसीडी अन्तर्गत नसर्ने रोग र मानसिक स्वास्थ्य शाखा समेत गरी कुल छ वटा शाखा छन् ।

त्यसमा इडीसीडी अन्तर्गत अहिले नसर्ने रोग र मानसिक स्वास्थ्य शाखा सहित नेग्लेक्टेड ट्रपिकल डीजीज (एनटीडी) र भेक्टर वर्न डिजिज शाखा, जुनोटिक र अन्य सरुवा रोग नियन्त्रण शाखा, इपीडीमियोलोजी र प्रकोप व्यवस्थापन शाखा र कुष्ठरोग नियन्त्रण तथा अपांङ्गता व्यवस्थापन शाखा रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *