गण्डकीका सात स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ, ३१ जेठ । गण्डकी प्रदेशका विभिन्न जिल्लाका सात स्वास्थ्य संस्थालाई एक/एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

नेपाल/भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख प्रसान्त सिंह वगेलले एम्बुलेन्स हस्तान्तरण गरे ।

गोरखा जिल्ला अस्पताल, गोरखा नगरपालिका वडा नं ६, बेनी अस्पताल म्याग्दी, मनपाङ हेल्थपोष्ट म्याग्दी, आर्थरडाँडा खर्क हेल्थ पोष्ट पर्वत, सिटी अस्पताल स्याङ्जा र आँबुखैरनी अस्पताल तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

त्यस अवसरमा प्रमुख वगेलले नेपाल/भारतबीचको सम्बन्ध सांस्कृतिक, सामाजिक तथा पारिवारिक रुपमा वर्षौदेखि रहँदै आएको उल्लेख गर्दै भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार र आपतकालीन अवस्थामा सहयोग गर्दै आएको बताए ।

नेपालको दुर्गम गाउँका विरामीले छिटो छरितो स्वास्थ्य सेवा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरेको उनले बताए ।

बेनी जिल्ला अस्पताल म्याग्दीका अध्यक्ष दिलकुमारी खत्रीले खुसी व्यक्त गर्दै बेनी जिल्ला अस्पताल म्याग्दीमा उक्त एम्बुलेन्स नै पहिलो भएको बताइन् । “विभिन्न संस्थासँग एम्बुलेन्स माग गरेका थियौ तर प्राप्त भएको थिएन, भारतीय दूतावासले दिएको एम्बुलेन्सबाट बिरामीले लाभ लिनेछन् ।”

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *