सन्दर्भ : विश्व रक्तदाता दिवस

‘दानको जीवन्तता र सर्वोत्कृष्ट स्वरुप हो रक्तदान’

विज्ञानको योगदान लाई सही कार्यान्वयन र जीवन बचाउ अभियानलाई पूर्ण सफल बनाउन रक्तदाताहरुको भूमिका निकै अतुलनीय रहँदै आएको छ ।

सेवा भावले ओतप्रोत स्वयंसेवीबीच आजको समयसम्म आइपुग्दा विश्वमै सबभन्दा बढी पटक रक्तदान गर्ने को भनेर एक प्रकारको प्रतिस्पर्धा नै देखिन थालेको छ । बास्तवमा   स्वयंसेवी रक्तदाताहरु धन्यवादका पात्र मात्र होइन विश्वकै मानव रुपी भगवानकै रुपमा परिचित हुँदै आएका छन् ।

संसारमा रक्त सञ्चारसेवाको इतिहास लगभग ३९० वर्ष पुरानो छ ।

सन् १६२८ मा डा. जेम्स ब्लन्डेल (बेलायत) ले मर्न लागेको एक रोगीलाई मानिसको रगत सञ्चार गराउने प्रथम प्रयास गरे ।

सन् १९०० मा (अष्ट्रिया) का डा. कार्ल लेन्डस्टेनरले ए, बि र ओ रक्त समूह हुन्छ भन्ने कुरा पत्ता लगाए ।

सन् १९१४ मा डा. हस्टीनले रगतलाई शरीर बाहिर बोतलमा सोडियम साइट्रेड रसायनको सहायताले नजम्ने गरी राख्ने तरिका पत्ता लगाए ।

सन् १९३२ मा पहिलो रक्तसञ्चार केन्द्र लेनिनगार्ड अस्पतालमा सञ्चालन भएको थियो ।

अब एकछिन नेपालको कुरा गरौँ,

नेपालको रक्तसंचारको इतिहासलाई फर्केर हेर्ने हो भने विसं २००० सालमा स्वयंसेवी रुपमा परोपकार संस्थाको संस्थापक अध्यक्ष सेवाका प्रतिमुर्ति स्व. दयावीर कंसाकार ज्यूले मृत्युको सैयामा छटपटाइ रहेका रत्नकाजी तुलाधरलाई सर्वप्रथम रक्तदान गरी जीवनदान दिनुभएको थियो ।   यो नेपालको इतिहासमै पहिलो स्वर्णांकित रक्तदान कार्य हो ।

त्यस्तै गरेर नेपालका प्रथम महिला रक्तदाता सिस्टर तारादेवी तुलाधर ले विसं २०१८ सालमा एक  मिर्गौला बिरामीलाई पहिलो पटक रक्तदान गर्नु भएको थियो ।

विसं २०२३ साल श्रावण १२ गतेबाट लक्ष्मी ब्लड बैंकको नाममा वीर अस्पताल नजिकैको सानो घरमा रक्तसञ्चार सेवा नेपाल रेडक्रस सोसाईटीले स्थापना गरी सेवा सञ्चालन गरेको थियो । प्रारम्भिक अवस्थामा काठमाण्डौंमा केवल १५७ युनिट रगत संकलन गरी सेवा प्रदान गरेको थियो ।

रक्तदानको अभियान भन्दा र सुन्दा जत्तिको सजिलो छैन । पानीमा नडुबी पौडी खेल्न जानीदैन भने झैं जबसम्म कुनै व्यक्ति पहिलो पटक रक्तदान गर्दैन तबसम्म उसमा रक्तदानको कार्यमा उत्प्रेरणा दिन सक्दैन त्यसैले कुनै व्यक्तिलाई उत्प्रेरणा र त्यसपछि उसलाई रक्तदाता बनाई नियमित रक्तदाता बनाउन वैज्ञानिक किसिमको उत्प्रेरणा तालिमको आवश्यकता पर्दछ ।

रक्तदान कार्य केवल उत्प्रेरणामा मात्र सिमित कुरा भने पक्कै होइन यसमा भावनात्मक पक्षहरुले पनि ज्यादै असर गरेको हुन्छ। त्यसैले सही उत्प्रेरकको निर्माण र नियमित स्वस्थ रक्तदाता को निर्माणकोलागी सवै सरोकार पक्षबीच  सहकार्य अपरिहार्य रहदै आएको छ ।

यसरी विभिन्न अभियान र कार्यक्रमबाट सिर्जना भएका रक्तदाताहरुलाई विभिन्न किसिमबाट सम्मान शुभकामना, बधाई दिने कामहरु पनि सरोकार पक्षको जिम्मेवारी हो । जसको लागि रक्तदातालाई जन्मदिनको शुभकामना पठाउने, अन्य सामाजिक कार्यमा सहभागी गराउने, रक्तदानको रेकर्ड अभिलेख अनुसार सामाजिक रुपमा सम्मान गर्ने आदि कार्यहरु गर्न सकिन्छ ।

हुन त नेपालको परिप्रेक्षमा यस किसिमको सम्मान कार्यहरु शत-प्रतिशत लागु गर्न नसकिएता पनि विश्व स्वास्थ्य संगठनको आव्हान अनुरुप विश्व रक्तदाता दिवस जुन १४ को अवसर पारी यथासम्भव सम्मान गरिदै आएको छ ।

वास्तवमा यी सवै आव्हान तब मात्र पूरा हुन्छ, जब सही रुपले रक्तदान सम्बन्धी उत्प्रेरणा जनमानसमा पुऱ्याउन सकिन्छ ।

किनकी व्यक्तिको शरीरबाट  उसमा रक्तदान गरेर स्वास्थ्यमा केहि असर नपर्ने तथा रगत पाउने व्यक्ति बाच्ने भन्ने कुरालाई बुझाएर, उक्त व्यक्तिलाई शारीरिक र मानसिक रुपमा रक्तदान गर्न तयार पार्ने काम सहि ढंगले उसमा प्रदान गर्नुपर्छ । जसको लागि विद्यालय, कलेज स्तरीय कार्यक्रम, संचार, उत्प्रेरणा, कक्षा, अन्तर्क्रिया कार्यक्रम, रक्तदाताको सम्मान आदि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्दछ ।

आजको विश्व त्यसमा पनि विभिन्न रोगहरु सहित उत्प्रेरणाबाट, माग अनुसार नियमित स्वयंसेवी रक्तदाता तयार हुने भएकोले यस अभियानले मानिसको जीवनशैलीमा पनि आफुलाई कसरी निरोगी बनाउने भन्नेमा पनि सचेत गराउँदछ ।

कस्ता व्यक्तिले रक्तदान गर्न सक्छन् ?

  • उमेर :-  १८ वर्ष देखि ६५ वर्ष सम्मका स्वस्थ पुरुष वा महिला ।
  • वजन :- ४५ केजी भन्दा माथी
  • हेमोग्लोबिन:-  १२ ग्राम ५ वा सो भन्दा माथी
  • ब्लड प्रेसर :-१००/७० ( १५० / ९९ मिमि मर्करी
  • शारीरिक परीक्षण :- मुटु, फोक्सो, कलेजो तथा शरीरका अन्य भित्री अङ्गहरु सामान्य अवस्थामा क्रियाशील हुनुपर्दछ । पहिले वा हाल जण्डीस वा मलेरिया, टाइफाइड, एड्स (एचआईभी- पोजेटिभ) वा औषधीहरु सेवन वा अन्य कुनै बिरामी भएमा डाक्टरसँग परामर्श लिएर मात्र ।
  • रक्तदानको अवधि :- स्वस्थ महिलाले हरेक ४/४ महिनाको अन्तरालमा वर्षको ३ पटक र स्वस्थ पुरुषले हरेक ३ महिनाको अन्तरालमा ४ पटक रक्तदान गर्न सक्दछ ।

कस्तो व्यक्तिले रक्तदान गर्न हुँदैन ?
क्षयरोग, छारेरोग, यौनरोग, मधुमेह, दम, उच्च रक्तचाप, मृगौलाको रोग, मुटुको रोग, एचआईभी संक्रमित औषधी सेवन गरिरहेको अवस्थामा, असुरक्षित र धेरै जनासँग यौन कार्यमा संलग्न तथा लागुपदार्थ दुर्व्यसनीमा लागेका व्यक्तिहरुले रक्तदान गर्नुहुँदैन । हाम्रो परिप्रेक्षमा महिलाहरु महिनावारी भइरहेको बेला (शुरु भएको ८ दिनसम्म) बच्चालाई स्तनपान गराइरहेको अवधिमा र गर्भवती अवस्थामा रक्तदान गर्नुहुँदैन ।

सन् २००४ देखि विश्व व्यापी रुपमै विश्वकै रक्तदाता एबम सो अभियानमा साथ दिने का सहयोगी सम्पूर्णलाई धन्यवाद दिँदै ए. बी. ओ. रक्त समूह पत्ता लगाउने डा. कार्ल लेन्डस्टिनर को जन्मोत्सवको पावन अवसरमा जुन १४ का दिन विश्व रक्तदाता दिवस मनाउदै आइरहेको छ ।

सन् २०२५ मा विश्व स्वास्थ्य संगठनले आफ्नो आबेदन पत्रमा “रक्तदान गरौं, आशा जगाऔं, हामी मिलि जीबन बचाऔं” भन्ने नारालाई अगाडि सारेको छ।

यसपटक दिवसको नारालाई अझ प्रभावकारी बनाउन आवश्यक परेकोले सरल तरिकाले ‘समयमै सुरक्षित रगत उपलब्ध गराउन सकिएमा ज्यान बचाउन सकिन्छ’ भन्ने मान्यताका साथ विश्वभर रगतको अपरिहार्यता एवं महत्वलाई व्यापक बनाउदै रक्तदानका लागि प्रोत्साहित गर्न विश्वभर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाउने घोषणा गरिएको हो ।

यसवर्ष वि.सं २०८२ जेठ २४ गते देखि ३१ गतेसम्म ब्लड डोनर्स एसोसिएसन नेपाल ( ब्लोदान) को आयोजनामा साप्ताहिक कार्यक्रमको आयोजना भएको छ ।  जस अनुसार साइकल र्‍याली, जनचेतना ऱ्याली, रक्तदान कार्यक्रम, बक्तृत्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता, महिला अन्तरक्रिया, क्लव-२५ अन्तरक्रिया कार्यक्रम, सम्मान तथा समापन कार्यक्रम हुने भएको छ ।

ब्लड डोनर्स एसोसिएसन नेपालले विभिन्न विधामा उत्कृष्ट रक्तदान गर्ने संघसंस्थाहरु, व्यक्तिहरुलाई रक्तदान रनिङ, सिल्ड, स्वर्ण डोनर पिन, रजत डोनर पिन र १०० पटक भन्दा बढी रक्तदान गर्ने पुरुष र ५० पटकभन्दा वढी गर्ने महिला रक्तदाताहरुलाई डायमण्ड डोनर पीनद्वारा सम्मान गरिदैछ ।

नेपालमा रक्तसञ्चार सेवा स्थापनाकाल देखि हालसम्म नेपाल रेडक्रस सोसाइटी सञ्चालन गर्दै आइरहेको छ । हाल नेपालमा राष्ट्रिय रक्तनीति २०७० ले रक्तसञ्चार सेवालाई व्यवस्थित गर्न राष्ट्रिय रक्तसञ्चार कार्यक्रम अन्तर्गत नेपाल सरकारले नियमन निकायको रुपमा स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई केन्द्र बनाई राष्ट्रिय रक्तसञ्चार ब्यूरोको गठन भएको छ। जुन स्वागतयोग्य छ । किनभने यस ब्यूरो मार्फत राष्ट्रिय रक्त कार्यक्रममा यो ब्यूरोले प्रभावकारी रुपमा देख्छ र राज्यको सहभागिता देखिन्छ । तर हालसम्म यो ब्यूरो त्यति प्रभावकारीरुपमा देखिएको छैन । यो जुन उद्देश्यले स्थापना गरिएको छ त्यसले पूर्णता पाउनु पर्दछ, न कि अन्य सरकारी निकाय जस्तो ब्यूरो पनि सरकारी कार्यालय झैँ केही कर्मचारीलाई जागिर खाने ठाउँ नबनोस् ।

देशमा देखिएको रगतको अभाव कुनै ठूलो समस्या हैन । यो समस्या समाधान गर्न धेरै सजिलो छ । सम्बन्धित सरोकारवालाहरुको बीचमा समन्वय नहुनु, राष्ट्रिय रक्त कार्ययोजना नहुनु, सरोकारवालाले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने यसको स्थायी समाधान गर्न सकिन्छ । जस्तै: उदाहरणको लागि सरोकारवालाको बिचमा समन्वयात्मक संगठन कार्ययोजना हुनु र नेपाल सरकार, नेपाल रेडक्रस सोसाइटीले आफ्नो जिम्मेवारी पूरा गर्ने र रक्तदानलाई जनचेतना तथा उत्प्रेरणामूलक गतिविधि सञ्चालन गर्ने हो भने देशमा रगतको कहिले अभाव हुँदैन ।

अन्त्यमा सवै लक्ष्यहरु सफल हुन्छन् भन्ने छैन तर लक्ष्य प्रति सारिने हरेक पाइलाहरु सही हुनुपर्दछ । त्यसको लागि सकारात्मक सोच, रचनात्मक विचार र दृष्टिमा उदारता चाहिन्छ ।

धन्यवाद !

“रक्तदान गरौँ, आशा जगाऔं, हामी मिलि जीबन बचाऔं”

# श्रेष्ठ ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) का केन्द्रीय अध्यक्ष हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *