औषधीको मूल्य नीति सम्वन्धी प्रतिवेदनको बिरोध : मुखमा कालोपट्टी लगाएर विभागमा धर्ना दिदै औषधी सम्बद्ध नौ संस्थाहरु

फाइल फोटो

काठमाडौँ, २९ जेठ । औषधीको मूल्य नीति सुझाव समितिले गत २७ जेठमा स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई बुझाएको प्रतिवेदन प्रति चर्को असन्तुष्ठी जनाएका औषधी सम्वद्ध नौ वटा व्यवसायिक संस्थाहरुले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रतिवेदन खारेजी वा पुर्नलेखनको माग गर्दै आएका व्यवसायीहरु दिईएको अल्टीमेटममा सरकारको तर्फबाट कुनै सुनुवाई नभएपछि बिरोधमा उत्रिनु परेको बताएका छन् ।

विरोध स्वरुप उनीहरुले भोलि विहान ११ बजे देखि १ बजेसम्म औषधी व्यवस्था विभागको परिसरमा भेला भई मुखमा कालो पट्टी बाँधेर मौन धर्ना दिने बताएका छन् ।

उनीहरुले बिराटनगर बीरगञ्ज, नेपालगञ्जमा रहेका औषधी व्यवस्था विभागको शाखा कार्यालयहरुमा पनि विहान ११ देखि १ बजेसम्म मुखमा कालोपट्टी लगाई मौन धर्ना दिने तयारी भएको एपोनका उपाध्यक्ष सन्तोष बरालले बताए ।

डा पोषराज पाण्डेको संयोजकत्वमा गठित समितिले साढे ८ महिना लगाएर बनाएको प्रतिवेदनले नेपालको औषधी व्यवसायलाई तहस नहस बनाउने भन्दै चर्को बिरोध गरेका हुन् ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले भने प्रतिवेदनको कार्यान्वयन हुने भन्दै छुटेका विषय भए समेटन आफू तयार रहेको बताएका छन् ।

बिरोधमा उत्रिने संस्थाहरुमा नेपाल औषधी उत्पादक संघ, नेपाल औषधी व्यवसायी संघ, नेपाल औषधी आयातकर्ता संघ, नेपाल चिकित्सक संघ, नेपाल पशुपक्षी औषधी व्यवसायी संघ रहेका छन् । यस्तै रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल, नेपाल आयुर्वेद औषधी उत्पादक संघ, नेपाल निजी अस्पताल संघ, र नेपाल औषधी थोक व्यवसायी संघ रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *