स्वास्थ्य बीमा बोर्डको ‘सर्भर क्र्यास’ हुँदा भुक्तानीका लागि अपलोड गरिएका कागजात उड्यो
सेवा प्रदायकहरुलाई छ महिना अवधीको दावी सम्वन्धी कागजात पुन: अपलोड गर्न बोर्डको अनुरोध
काठमाडौँ, २२ जेठ । स्वास्थ्य बीमा बोर्डको ‘सर्भर क्र्यास’ हुँदा सेवा प्रदायक अस्पताल तथा स्वास्थ्य संस्थाहरुले भुक्तानी माग गर्दै अपलोड गरेका कागजातहरु उडेका छन् । बोर्डले २०८१ बैशाख देखि २०८१ असोज मसान्तसम्मको डकुमेन्ट पुन: अपलोड गर्न उपचारका लागि सूचीकृत सबै अस्पताल तथा स्वास्थ्य संस्थासंग अनुरोध गरेको छ ।
बेलाबखतमा सर्भर डाउन हुने र नचल्ने समस्या बीमा बोर्डका लागि खासै नयाँ हुदैनथ्यो तर केही महिना अघि एकैपटक मुख्य सर्भर डाउन हुँदा अघिल्लो वर्ष बैशाख देखि असोजसम्मका भुक्तानीका लागि दावी गरिएका सबै कागजात उडेको छ ।
अहिले बीमाका अधिकारीहरुले सेवा प्रदायक सबै संस्थाहरुलाई सो अवधीको दावी गरिएका सबै कागजात रिभ्युका लागि पुन: अपलोड गर्नु पर्ने अवस्था आएको भन्दै अनुरोध पत्र पठाएका छन् । जिल्लास्थित बीमा बोर्डका अधिकारीहरुले पनि आफ्नो क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थामा पुगेर भुक्तानीका लागि पुन: अपलोड गर्न अनुरोध गरेका छन् ।
तर , कतिपय अस्पतालहरुले ती कागजातहरु अहिले अपलोड गर्न सक्ने अवस्थामा आफूहरु नभएको समेत जवाफ दिने गरेका छन् ।
बोर्डका सूचना प्रविधि प्रमुख सुरेश सिंह तिंकरीले हस्ताक्षर गरि सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरुमा पठाएको पत्रमा २०८१ बैशाख १ देखि २०८१ असार मसान्तसम्मका रुजु हुन बाँकी दावीहरुका कागजात पुन: अपलोड गर्न अनुरोध गरिएको छ । यस्तै १ साउन देखि असोज मसान्त २०८१ सम्म अपलोड गरिएका कागजातहरु पनि स्टोरेजमा समस्या भएर हेर्न नसकिएको भन्दै पुन: अपलोड गर्न अनुरोध गरिएको छ । पत्रमा आर्थिक वर्षको अन्तिम सयममा आईपुगेको र भुक्तानी गर्न खोजिए पनि डकुमेन्ट नहुँदा नसकिएकोले पुन अपलोड गर्न भनिएको छ ।
स्वास्थ्य वीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले केही समय अघि सर्भरमा समस्या आएको र कागजात पुन: अपलोड गर्न भनिएको बताए । ‘हो त्यतिवेला समस्या आएको हो । अहिले नभेटिएका कागजातहरु रिस्टोर गर्नका लागि प्रयासहरु भई रहेका छन्,’ उनले भने ।
बोर्डका सूचना अधिकारी विकेश मल्लले समस्या समाधानका लागि कामहरु पनि भई नै रहेको बताए । ‘अलि पहिल्यै देखिएको समस्या हो । हामीले त्यसको समाधानका प्रयासहरु गरिनै रहेका छौँ । अहिले भुक्तानी गर्ने बेला समेत भएकोले डकुमेन्ट हुनेहरुलाई पुन अपलोड गरिदिनुहोस भनेका हौँ,’मल्लले भने ।
बोर्डको पत्रमा २८ चैत देखि डकुमेन्टस् अपलोडका लागि राखिएको स्टोरेजमा प्राविधिक समस्या देखिन आई सेवा अवरोध भएको उल्लेख छ ।
सरकारले बजेटमा मार्फत यस आगामी आर्थिक वर्ष भित्र अहिलेसम्मको बक्यौँता रकम पुरै भुक्तानी गर्ने बताईसकेको छ । तर अपलोड गरिएको डकुमेन्टहरु रुजु गर्न अफ्टेरो हुँदा सो काममा समेत ढिलाई हुने देखिएको छ । बोर्डले रुजुका भन्दै केही दिन अघि मात्रै १८० जना जनशक्ति तीन महिने करारमा नियुक्त गर्न दरखास्त आव्हान गरिसकेको छ ।
सम्पर्क इमेल : [email protected]