निर्माण सम्पन्न भएका ५७ वटा आधारभूत अस्पताल साउन देखि सञ्चालनमा ल्याउने तयारी
काठमाडौँ, २२ जेठ । सरकारले स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सो कार्यका लागि तयारी थालेका छन् । अहिलेसम्म निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ ।
हालै मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ स्विकृत गरेको छ ।
अब मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघीय सरकारबाट गर्नुपर्ने जनशक्ति, औजार उपकरण, औषधी तथा रिएजेन्टस लगायतका अत्यावश्यक संशाधनको व्यवस्थापन पनि अगाडी बढेको बताइएको छ ।
त्यसो त स्वास्थ्य मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् ।
कार्यदलले संघ सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनुका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे समेत प्रष्टता ल्याउन सघाउनेछ ।
मन्त्रालयले यस्ता अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी वर्षका लागि करिब एक अर्ब बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरु सञ्चालनमा सहजता आउने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
सम्पर्क इमेल : [email protected]