प्रेस युनियन काठमाडौँ शाखाद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौँ, १९ जेठ । नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसर पारेर युनियनको काठमाडौँ शाखाले आइतबार आयोजित एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
अनामनगरमा रहेको सामाजिक विकास भवनमा राखिएको स्वास्थ्य शिविरमा ४२५ जना पत्रकारले स्वास्थ्य परीक्षण गराएको काठमाडौँ शाखा अध्यक्ष महेश गौतमले जानकारी दिए ।
शिविरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकबाट आँखाको जाँच, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकबाट महिलाको पाठेघर र स्तन क्यान्सरको परीक्षण, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विशेषज्ञ चिकित्सकबाट मिर्गौला र मधुमेह जाँच, चिरायु डेन्टल केयरका विशेषज्ञ चिकित्सकबाट दन्त परीक्षण सेवा उपलव्ध भएको थियो ।
शिविरको उद्घाटन गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेल पुगेका थिए । सो क्रममा उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता बिस्तारमा प्रयासरत रहेको बताए । उनले केही समयअघिसम्म केही रोगको प्रयोगशाला परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता भए पनि हाल प्रयोगशालाको क्षमता अभिवृद्धि गरेर नेपालमै परीक्षण सम्भव गराउने परिस्थिति बनेको दावी गरे ।
‘बाहिर जानु नपर्ने गरी यही परीक्षणको व्यवस्था गर्न यसपटक बजेटले पनि सम्बोधन गरेको छ । उपचार प्रणालीलाई व्यवस्थित गर्ने सन्दर्भमा थुप्रै काम गर्न कोसिस भइरहेको छ,’ उनले भने ।
मन्त्री पौडेलले स्वास्थ्यको उपकरण खरिद प्रक्रियालाई पनि पारदर्शी बनाउन विभिन्न विधि अपनाइरहेका छौँ भन्दै उनले बिग्रिएका उपकरण राष्ट्रिय आविस्कार केन्द्रले मर्मत गरेपछि सञ्चालनमा आइरहेको बताए ।
उक्त कार्यक्रममा राष्ट्रियसभा सदस्य पदम परियारले फिल्डमा खटेर काम गर्नुपर्दा पत्रकारले स्वास्थ्यमा ध्यान दिन नपाइरहँदा यस्ता स्वास्थ्य शिविरले केही राहत दिने बताए ।
युनियन काठमाडौँ शाखा अध्यक्ष महेश गौतमले पत्रकारको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्वास्थ्य शिविरको आयोजना गरेको बताए । उनले भने, ‘सधै कार्यस्थलमै खटिनुभएका पत्रकारले आज कामसँगै आफ्नो स्वास्थ्यको बारेमा जानकारी लिन पाउनुभयो । यो शिविरले कामसँगै स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ भन्ने सबैलाई संदेश दिएको छ ।’
उक्त स्वास्थ्य शिविर सम्पन्न गर्न ‘लाज शरणम’ का निर्माता नवीन श्रेष्ठ, ‘जेरी अन टप’ का निर्माता सरोज न्यौपानेले सहयोग गरेका थिए ।
उक्त शिविर विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको थियो ।
सम्पर्क इमेल : [email protected]