सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानूनको प्रभावकारी कार्यान्वयन होस् : नेपाल एनसीडी एलायन्स
काठमाडौँ, १६ जेठ । नेपाल एनसीडी एलायन्सले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्वन्धी ऐनको प्रभावकारी कार्यान्वयनको माग गरेको छ ।
ऐन पारित भएको १४ वर्ष लागि सक्दा समेत त्यसमा भएका व्यवस्था लागू हुन नसक्नु दुखद पक्ष हो भन्दै यसको यसको प्रभावकारी कार्यान्व्यन हुनु पर्नेमा जोड दिएको छ ।
विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको पूर्व सन्ध्यामा एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मी र महासचिव किशोरकुमार प्रधानाङ्गले शुक्रबार जारी विज्ञप्तीमा ऐन कार्यान्वयन तथा सरकारले ल्याउने नीतिमा सुर्ती उद्योगहरुको हस्तक्षेप स्पष्ट देखिने गरेको उल्लेख छ । एलायन्सले त्यसको पछिल्लो पटक सुर्तीजन्य पदार्थमा नबढेको करको दरलाई लिन सकिने बताएको छ ।
हुन पनि बिहीबार सार्वजनिक गरेको बजेट भाषणमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको करमा खासै बृद्धि गरिएको छैन ।
‘विश्व स्वास्थ्य संगठनले करको दर ७५ प्रतिशत पुरयाउन भन्छ तर हामी ३४ प्रतिशतकै हाराहारिमा अल्झिएर बसेका छौँ । बार्षिक ३९ हजार २०० बढी नेपालीको मृत्यु हुने सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि बनाइएको कडा कानूनको लागू गर्न सकेका छैनौं । यो आफैमा विडम्बना हो,’ विज्ञप्तीमा भनिएको छ ।
‘सुर्ती उद्योगहरुले सामाजिक उत्तरदायित्वको नाममा आफ्ना उत्पादनको प्रवर्द्धन गरिनै रहेका छन् । ऐनमा बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई यसको खरीद बिक्री र प्रयोगमा निषेध गरिएको छ तर त्यस सम्वन्धी व्यवस्थाको कार्यान्व्यन हुन सकेको छैन । यसमाथि सुर्ती उद्योगहरुले नेपालको कानून नै प्रभाव पार्ने गरी विभिन्न गैरकानूनी कार्यहरु अघि बढाउँदै आएका छन् । यसमा अब सबैको ध्यान जान जरुरी छ,’ विज्ञप्तीमा भनिएको छ ।
एलायन्सले सुर्ती नियन्त्रण सम्वन्धी व्यवस्थाको कार्यान्वयन सरकार, नागरिक समाज, पत्रकार सहित आम नागरिकको सहयोगबाट मात्रै सफल हुने भन्दै त्यसका लागि हातेमालो गर्न आव्हान गरेको छ ।
यस वर्षको विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको नारा: ‘सुर्ती उद्योगको आकर्षक चाल: प्राणघातक असर चिरौँ यो मोहजाल’ भन्ने रहेको छ ।
सम्पर्क इमेल : [email protected]