इन्डोनेसियालाई ‘डब्लुएचओ एफसीटीसी’ अनुमोदन गर्न आग्रह
काठमाडौँ, १५ जेठ । युवा सुर्तीजन्य पदार्थ प्रयोगकर्ता अधिक रहेको देश इन्डोनेसियालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल (एफसीटीसी) मा हस्ताक्षर गरी अनुमोदन गर्न विज्ञहरुले आग्रह गरेका छन् ।
गत सोमबार देखि बुधबारसम्म इन्डोनेसियाको बालीमा आयोजना भएको १० औँ इन्डोनेसियाली सुर्तीजन्य पदार्थ नियन्त्रण सम्मेलनमा सहभागी विज्ञहरुले सरकार समक्ष यस्तो आग्रह गरेका हुन् ।
एफसीटीसी सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्नका लागि डब्लुएचओले बनाएको पहिलो अन्तराष्ट्रिय स्वास्थ्य सम्बन्धी अभिसन्धि हो ।
२१ मे २००३ मा विश्व स्वास्थ्य सभाले अपनाएको यो सन्धिलाई २७ फेब्रअरी २००५ देखि लागू गरिएको हो । हाल संयुक्त राष्ट्रसंघका सदस्य रहेका १९३ वटा राष्ट्र मध्ये १४ वटा बाहेक सबैले एफसीटीसी अनुमोदन गरेका छन् । एफसीटीसी अनुमोदन नगरेकामध्ये पनि ६ वटाले हस्ताक्षर गरेका छन् भने ८ वटा राष्ट्रले हस्ताक्षर पनि गरेका छैनन् । त्यसै मध्यको एक हो इन्डोनेसिया । यो देश अहिले एफसीटीसीमा हस्ताक्षर नगर्ने एशिया प्रशान्त क्षेत्रको एक मात्रै देश हो ।
सम्मेलनको उद्घाटन सत्रमा बोल्दै एशिया प्यासेफिक टोबाको कन्ट्रोल भाइटल स्ट्राटेजीका निर्देशक डा. तारासिंह बमले इन्डोनेसियाली जनताको स्वास्थ्य र मानव कल्याणका लागि पनि नयाँ सरकारले एफसीटीसीमा हस्ताक्षर तथा अनुमोदन गर्नै पर्ने बताए ।
सम्मेलनमा सहभागी इन्डोनेसियाका उपराष्ट्रपति, स्वास्थ्य मन्त्री र अन्य उच्च अधिकारीसंग डा बमले आग्रह गर्दै भने, ‘यो देश विश्वव्यापी रुपमा नै पुरुष धूमपानकर्ता उच्च रहेको देशको रुपमा चित्रित छ । एफसीटीसीलाई अनुमोदन गरेर त्यसका निर्देशनहरु पालना गर्दा यसलाई न्युनिकरण गर्न सजिलो हुन्छ । त्यसैेले एफसीटीसी अनुमोदनलाई तत्कालको प्राथमिकता राखेर अघि बढ्न अनुरोध गर्दछु ।’
सम्मेलनमा उनले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बलियो नीति मात्रै होईन राजनीतिक इच्छा शक्ति पनि चाहिन्छ र बनेको नीतिको प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले नेताहरुलाई सुर्तीजन्य पदार्थको नियन्त्रण सम्वन्धी कार्यलाई प्राथमिकता दिन समेत आग्रह गरे ।
हुन पनि इन्डोनेसियामा उच्चतर धूमपान गर्ने शीर्ष ५ देशहरु मध्ये एक पर्दछ । जहाँ बयस्क धूमपान दर ३९ प्रतिशत रहेको छ ।एफसिटीसीमा हस्ताक्षर नगर्ने एशिया प्रशान्त क्षेत्रको एक मात्रै देश इन्डोनेसियालाई पछिल्लो समय भने हस्ताक्षर तथा अनुमोदनका लागि दवाव बढदै गएको छ ।
डा बमले एफसीटीसीमा हस्ताक्षर गर्नु भनेको राजनीतिक नेतृत्वको प्रतिवद्धता समेत हो भन्दै उनले यो प्रतिवद्धता इन्डोनेसियामा भर्खरै बनेको नयाँ सरकारले गर्नेछ भन्ने आशा राखेको बताए ।
सम्मेलनलाई सम्वोधन गर्दै इन्डोनेसियाका स्वास्थ्य मन्त्री बुदी गुणादी सादिकिनले जन कल्याणको संरक्षणलाई अगाडी बढाएर प्रमाणमा आधारित रणनीतिहरु तर्जुमा गर्न सम्मेलन सहयोगी बन्ने भन्दै सरकारले गरेका प्रयासबारेमा पनि बताएका थिए ।
उनले भने, ‘सरकारले सुर्तीजन्य पदार्थमा अन्तशुल्क बढाउने, सुर्तीजन्य पदार्थको विज्ञापनमा प्रतिवन्ध लगाउने, सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र बिस्तार गर्ने, धूमपान निवारण सम्बन्धी कार्यहरुलाई समर्थन गर्ने लगायतका कार्यहरु अघि बढाइरहेको छ ।’
सम्मेलन आयोजक समितिका अध्यक्ष सुमरजति अर्जोसोले भनिन्, यो सम्मेलन बालबालिका र किशोरकिशोरीहरुमा लगाउन सक्ने लतको प्रभावविरुद्ध एक दशक देखि गरिरहेको संघर्षको प्रतिक हो । उनले पछिल्लो समय सुर्ती उद्योगहरुले युवापुस्तालाई प्रभावपार्ने गरी रणनीति चालेको भन्दै चिन्ता व्यक्त गरिन् । तीन दिनसम्म चलेको सम्मेलनमा २०० बढीले सहभागिता जनाएका थिए । त्यसमा डब्लुएचओ इन्डोनेसियाका प्रतिनिधि डा एभलिन मर्फी पनि उपस्थित थिईन्
इन्डोनेसियामा बार्षिक रुपमा २ लाख ७० हजार बढीको ज्यान लिने गर्दछ । जो कुल मृत्युको झण्डै २३.३ प्रतिशत हो । यसले गरीबीलाई झन् ठूलो असर पार्दछ ।
विश्व धूमपानरहित दिवसको अवसरमा इन्डोनेसिया जनस्वास्थ्य संघ, उदयना केन्द्र र उदयना विश्वविद्यालयको मेडिसिन संकायको आयोजनामा भएको थियो ।
तीन दिनसम्म चलेको सम्मेलनमा नीति निर्माताहरु शिक्षाविद, जनस्वास्थ्य विद, स्वास्थ्यकर्मी साथै युवा पुस्ताका अगुवाहरु समेत गरी २०० बढीले सहभागिता जनाएका थिए ।
सम्पर्क इमेल : [email protected]