नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट डब्ल्युएचओको कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित
काठमाडौँ, ९ जेठ । नेपाल विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यकारी सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ ।
जेनेभामा जारी सङ्गठनको ७८ औं महासभाका क्रममा नेपाल दक्षिणपूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत निर्वाचित भएको हो ।
अब नेपाल तीन वर्ष सङ्गठनको कार्यकारी समितिमा रहनेछ । निर्वाचित भएलगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यो नेपालका लागि स्वास्थ्य सेवा सुधारमा आफ्ना असल स्वास्थ्य अभ्यासको प्रसार र विश्वका असल अभ्यासको अनुकरणको ठुलो अवसर भएको उल्लेख गरे ।
मन्त्री पौडेलले यसका लागि सबै नेपालीलाई बधाई समेत दिएका छन् ।
नेपालले आगामी वर्ष आप्रवासी श्रमिकको स्वास्थ्यका लागि रोजगारदातालाई जिम्मेवार बनाउन सङ्कल्प प्रस्ताव लैजाने तयारी गरेको मन्त्री पौडेलले बताए । यसले नेपाली श्रमिक तथा विश्वभरका श्रमिकको स्वास्थ्यका पक्षमा महत्त्वपूर्ण योगदान पुग्ने उनले विश्वास गरे ।
‘‘यो जिम्मेवारीले नेपाली श्रमिकको स्वास्थ्य रक्षाका मुद्दामा विश्वव्यापी समर्थन जुटाउन योगदान पुग्ने ठानेका छौं,’’ उनले भने ।
सम्पर्क इमेल : [email protected]