विद्यालयसंग सहकार्य गर्दै गल्कोटमा मनाईयो पोषण सप्ताह

बाग्लुङ, ९ जेठ ।  पोषणलाई राष्ट्रिय प्राथमिकताको रूपमा लिँदै सरकारले हरेक वर्ष १ जेठ देखि ७ जेठसम्म देशैभर पोषण सप्ताह मनाउने गरेको छ ।

सप्ताहको अवसरमा गल्कोट नगरपालिकाको वडा नम्बर ४ मा विशेष कार्यक्रम आयोजना गरी पोषण सप्ताह सम्पन्न भएको छ । जनस्वास्थ्य अधिकृत पारस पंगेनीका अनुसार यसपटक वडा नं. ४ मा रहेको बौर आधारभूत स्वास्थ्य सेवा केन्द्रले गोल्डेन फ्युचर इंग्लिस बोर्डिङ स्कुलसंग सहकार्य गर्दै पोषण सप्ताहलाई जीवन्त राख्ने प्रयास गरेको छ । सो स्वास्थ्य सेवा केन्द्रको आयोजना तथा बोर्डिङ स्कुलको समन्वयमा विद्यालयस्तरीय विज्ञान तथा पोषण प्रदर्शनी गरिएको थियो ।

यस कार्यक्रमले विद्यार्थीहरूलाई पोषण, स्वास्थ्य तथा सरसफाईका विषयमा व्यवहारिक ज्ञान प्रदान गर्न तथा स्वस्थ जीवनशैलीतर्फ अभिप्रेरित गरेको आयोजकले दावी गरेका छन् ।

प्रदर्शनीमा विद्यार्थीहरूले सिर्जनात्मक क्षमताको उत्कृष्ट परिचय दिँदै एम्बुलेन्स, स्वास्थ्य चौकी, शरीरका अङ्गहरू, झरना, फुड पिरामिड, फुड बास्केट लगायतका थुप्रै शैक्षिक तथा व्यवहारिक मोडेलहरू निर्माण गरी प्रदर्शन गरेका थिए। साथै सन्तुलित आहारको महत्त्व, कुपोषण र अतिपोषणका कारणहरूबारे तयार पारिएका विविध पोस्टर, तस्बिर तथा चित्रकलाले पोषण सन्देशलाई सरल र प्रभावकारी ढंगले सम्प्रेषण गरेको थियो।

नेपाली ग्रामीण जीवनशैली र कृषि संस्कृतिको झल्को दिने डोको, जाँतो, हलो जस्ता परम्परागत उपकरणहरूको प्रदर्शनले कार्यक्रमलाई अझ सन्देशमूलक बनाएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले पाएको सहभागिता र प्रस्तुतीले उनीहरूको ज्ञानवृद्धि मात्र नभई आत्मविश्वास अभिवृद्धिमा पनि सकारात्मक प्रभाव परेको शिक्षक र अभिभावकहरूको प्रतिक्रिया रहेको छ। स्थानीय स्वास्थ्यकर्मी, स्रोत व्यक्ति, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरूको उपस्थिति र सहकार्यले कार्यक्रमको प्रभावकारिता अझ बढाएको थियो। यसैक्रममा विद्यालय स्वास्थ्य तथा सरसफाई समितिको समेत समीक्षा गरिएको थियो।

जनस्वास्थ्य अधिकृत पंगेनीका अनुसार पहिलो दिन (१ जेठमा) पोषण प्रदर्शनी तथा फर्सीको खिर लगायतका पोषिला खानेकुराहरु विद्यार्थीकै अगाडि तयार गरी उनीहरुलाई दिवा खाजाको रुपमा प्रदान गर्दै पोषण नाङ्लोको प्रदर्शन गरिएको थियो । दोस्रो दिन पोषण शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय खानाको महत्त्व र पोषण सिद्धान्तबारे जानकारी दिइएको थियो ।

तेस्रो र चौथो दिन सम्पूर्ण विद्यार्थीलाई जुकाको औषधि खुवाइयो भने पाँचौं दिन विद्यालय सरसफाइ, बाल क्लब गठन र स्वास्थ्य परीक्षणको समन्वय गरिएको थियो। छैठौं दिन हाजिर–जवाफ, गीत, नृत्य, वक्तृत्वकला, लेखन तथा विज्ञान प्रदर्शनी जस्ता अतिरिक्त क्रियाकलाप समावेश गरिए, जसमा विद्यार्थीहरूले अत्यन्त प्रेरणादायी र ज्ञानमूलक प्रस्तुतीहरू दिएका थिए। सातौं दिन समापन सत्रसहित विद्यालय स्वास्थ्य तथा सरसफाई समितिको समिक्षा गरिँदै सप्ताहको औपचारिक समापन गरिएको थियो।

नेपालको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (२०१६ – २०२२) का तथ्यांकले पोषण सुधारको दिशामा उल्लेखनीय प्रगति देखाएका छन्, तर अझै पनि देशका हजारौँ बालबालिका र महिलाहरू कुपोषणको चपेटामा छन्।

जीवनका प्रारम्भिक हजार दिनमा गरिएको पोषणको लगानीले दीर्घकालीन रूपमा स्वास्थ्य, शिक्षा र आर्थिक उत्पादनमा सकारात्मक असर पार्ने विभिन्न अध्ययनहरूले देखाएका छन्।

यही सन्दर्भमा नेपाल सरकारले बहु–क्षेत्रीय पोषण योजना, सुनौलो हजार दिन कार्यक्रम, स्कुल हेल्थ नर्स कार्यक्रम लगायतका थुप्रै पहलहरूमार्फत पोषण सुधारमा लागिपरेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *