फार्मेसी अनुगमनका लागि रौतहट पुगेका विभागका कर्मचारीलाई स्थानीयले कुटे

काठमाडौँ ६ जेठ । फार्मेसी अनुगमन गर्न रौतहटको राजपुर पुगेका औषधी व्यवस्था विभागका कर्मचारीमाथि स्थानीयले कुटपिट गरेका छन् । सोमबार विभागको वीरगञ्जस्थित क्षेत्रीय कार्यालयबाट अनुगमनका लागि खटिएको कर्मचारीको टोलीमाथि आक्रमण भएको हो ।
राजपुर नगरपालिका वडा नं. ४ मा औषधी पसल दर्ता नगरी चलाएको, बिक्री वितरणमा रोक लगाइएको औषधी समेत विक्री गरेको उजुरीपछि अनुगमन गर्न टोली त्यस क्षेत्रमा पुगेको थियो ।
विभाग क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख शम्भु साहका अनुसार फार्मेसी निरीक्षक ओम प्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा कुटिएका हुन् । स्थानीय शेख नेक महम्मदले हार्डवेयर पसलको बोर्ड राखेर वर्षौंदेखि औषधी पसल सञ्चालन गर्दै आएको उजुरीपछि विभागको टोली अनुगमनमका लागि त्यहाँ पुग्दै थियो । तर स्थानीयहरुले उनीहरुलाई त्यहाँको पसल अनुगमन गर्नै दिएनन् ।
त्यसो त विभागको अनुगमन टोलीसंगै विभागका कर्मचारीसँगै जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेशप्रसाद तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुद्रराज कँडेल पनि थिए । तर उनले कर्मचारीलाई कुटिनबाट जोगाउन सकेनन् । उनले घटनामा आफ्नो मोबाइल फुटेको बताए । घटना नियन्त्रण गर्न तत्काल जिल्ला प्रहरी कार्यालय गौरबाट गएको प्रहरीको थप टोलीले अनुगमनमा गएका कर्मचारीलाई उद्धार गर्न सफल भएको थियो ।
सो क्रममा स्थानीयले औषधी व्यवस्था विभागका कर्मचारीको आवश्यक कागजात समेत खोसेको छ । कुटपिटमा अधिकांश महिला र केटाकेटी अघि सरेका थिए ।
घटनाको सूक्ष्म तरिकाले अनुसन्धान अघि बढाइएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]