सुर्तीजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ठ योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
काठमाडौँ, ५ जेठ । सुर्तीजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ठ योगदान पुर्याएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई पुरस्कृत गरेको छ ।
सुर्तीजन्य पदार्थको प्याकेटमा सत प्रतिशत भाग घातक चित्र र चेतावनीमुलक सन्देशले छोप्नुपर्ने निर्देशिका बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई डब्लुएचओले अवार्ड प्रदान गरेको हो । सत प्रतिशत भागमा घातक चित्र सहित चेतावनीमुलक सन्देश राख्ने नेपाल पहिलो मुलुक हो ।
स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य संगठनको ७८ औँ महासभामा भाग लिन गएका स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई आज आयोजित विशेष समारोहमा डब्लुएचओका महानिर्देशक डा टेडरोस अधानोम ग्रेब्रेयससले सो अवार्ड प्रदान गरेका हुन् ।
डब्लुएचओले प्रत्येक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा उत्कृष्ठ योगदान पुरयाउने व्यक्ति तथा संस्थाहरुलाई यो पुरस्कार दिने गर्दछ ।
दक्षिण एशियाबाट यस्तो पुरस्कार पाउनेमा राष्ट्रिय राजश्व बोर्ड बंगलादेश, सुर्तीजन्य पदार्थ नियन्त्रण कक्ष, स्वास्थ्य तथा परिवार कल्याण विभाग, कर्नाटक सरकार, भारत , र , बैंककका गभर्नर तथा बैंकक सुर्तीजन्य उत्पादन नियन्त्रण समिति थाईल्याण्डका अध्यक्ष चाडचार्ट सिट्टीपुन्ट रहेका छन् ।
सम्पर्क इमेल : [email protected]