काठमाडौँका मुटु विशेषज्ञको टोली मुटु जाँच्न जाजरकोट
खलङ्गामा दुई दिने मुटु स्वास्थ्य शिविर, ८७५ जनाको परीक्षण
काठमाडौँ, ३ जेठ । काठमाडौँका मुटु विशेषज्ञहरुको टोली यसपटक मुटु स्वास्थ्य शिविर लिएर जाजरकोट पुगेको छ । कर्णाली प्रदेशमा मुटु स्वास्थ्य सचेतनासंगै विशेषज्ञ सेवा दिने योजनाका साथ यसपटक नौ जना मुटु विशेषज्ञसहित २२ जनाको टोली जाजरकोट पुगेको हो ।
जिल्ला सदरमुकाम खलङ्गामामा भएको शिविरको आयोजक नेपाल हृदयरोग निवारण प्रतिष्ठान र रोटरी क्लव अफ पाटन थिए । यी दुई संस्थालाई संयोजन गर्ने काम नेपाल हृदयरोग निवारण प्रतिष्ठान जाजरकोट शाखाले गरेको थियो भने भेरी नगरपालिका, जिल्ला समन्वय समिति जाजरकोट र स्वास्थ्य कार्यालय जाजरकोटले सहयोग गरेका थिए ।
पूर्व निर्धारित तालीका अनुसार नै शिविर गत बैशाख २८ र २९ गते खलङ्गामा चलेको थियो । उक्त शिविरमा ८७५ जनाको मुटु परीक्षण तथा उपचार भएको शिविरका लागि नेतृत्व गरेका बरिष्ठ मुटु विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताए ।
शिविरमा कस्ता-कस्ता केश भेटियो ?
डा. रेग्मीका अनुसार शिविरमा जचाँउन आउने नागरिकमध्ये ७० प्रतिशतमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो । उनले धेरै व्यक्तिहरुमा शिविरमै परीक्षण गर्न आउँदा पहिलो पटक मधुमेह पत्ता लागेको बताए । डा. रेग्मीले यसरी मधुमेह र उच्चरक्तचाप धेरै संख्यामा देखिनु चिन्ताको विषय भएको उनले बताए ।
परीक्षणका क्रममा करीव १० प्रतिशतमा बाथ मुटुरोग, त्यत्तिकै संख्यामा जन्मजात मुटुरोग र दम खोकीबाट मुटु सुन्निएको पाइएको थियो ।
शिविरमा ३२५ जनाको मुटुको भिडियो र २७५ जनाको इसीजी परीक्षण गरिएको थियो । शिविरमा पाँच लाख बढीको औषधी निशुल्क वितरण गरिएको डा रेग्मीले बताए ।
शिविरका लागि काठमाडौँबाट खटिएका २२ जना को को थिए ?
सो शिविरका लागि काठमाडौँबाट नौँ जना विशेषज्ञ चिकित्सक, छ जना स्वास्थ्य प्राविधिक र सात जना स्वयंसेवकसहित २२ जनाको टोली खटिएको थियो ।
जाजरकोट शिविरको नेतृत्व बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले गरेका थिए । टोलीमा बरिष्ठ मुटुरोग विशेषज्ञहरु डा. अवनीभूषण उपाध्याय, डा. उर्मिला शाक्य, डा. प्रेमराज बैद्य, डा. डेनिस श्रेष्ठ, डा. सत्यनारायण सुवाल, डा. अजय अधिकारी, डा. निशान भट्टराई, डा. विश्ववन्धु शर्मा रहेका छन् । यस्तै स्वास्थ्य प्राविधिकहरु शारदा महर्जन, अनमोल महर्जन, मोहन श्रेष्ठ, केशव ढकाल, भानुभक्त ओझा र महेश भट्ट थिए ।
शिविरमा रोटरी क्लव अफ पाटनबाट स्वयंसेवकको रुपमा केदारभक्त श्रेष्ठ, खड्ग बिष्ट, गणेशराज श्रेष्ठ, कमल न्याछे र महेश्वरी विष्ट रावल खटिएका थिए । यस्तै प्रतिष्ठानबाट दीपेन्द्रपुरुष ढकाल र देव गौतम पनि स्वयंसेवकको रुपमा खटिएका थिए । शिविरका लागि नेशनल हेल्थ केयर प्रालिले औषधी उपलव्ध गराएको थियो ।
सम्पर्क इमेल : [email protected]