अपाङ्गता भएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको गुनासो : हामी उपेक्षामा परियो
काठमाडौँ, ३ जेठ । अपाङ्गता भएका व्यक्ति होस या यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरु हुन्, राज्यले कुनै न कुनै रुपमा उनीहरुलाई सम्वोधन गरिरहेकै छ । तर, अपाङ्गता भएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक भने आफूहरु यी दुबै समुदायबाट उपेक्षामा परेको गुनासो गरेका छन् ।
बिहीबार राजधानीमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा उनीहरुले आफ्नो समुदायलाई न राज्य पक्ष, न अपाङ्गताका क्षेत्रमा काम गर्ने पक्ष न त सबलाङ्ग देखिने यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको नै नजर परेको भन्दै गुनासो गरे ।
कार्यक्रम आयोजक संस्था इन्द्रेणी अपाङ्गता नेपालका अध्यक्ष आदित्य राईले अपाङ्ग र अझ त्यसमा पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरु आफ्नै समुदायसंग स्वीकार्यतामा नपरेको भन्दै दुख व्यक्त गरे ।
‘हामी अपाङ्गतामा परेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय हौँ । तर हामीलाई न त अपांङ्गता क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संस्थाले स्वीकार्छन्, न त यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय (क्वेर)ले स्वीकार्छन् । एक हिसावले भन्दा हामी आफ्नै समुदायबाट दवाईएको अवस्थामा छौँ,’ उनले भने ।
आफ्नो संस्थाले केही वर्ष अघि गरेको अध्ययन्मा नेपालमा १८३ जना अपाङ्गता भएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक रहेको अध्यक्ष राईले सुनाए ।
उनले आफूहरुको अहिलेको लडाई अस्तित्व तथा पहिचानको लडाई हो भन्दै सुरुवात भने अपाङ्गताको क्षेत्रमा काम गर्ने र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्ने संस्थाहरुसंग भएको बताए । ‘पहिले हामीलाई हाम्रै समुदायले स्वीकार्नु पर्छ । त्यसपछि हामी राज्यसंग लडौला,’ उनले भने ।
सन् २०१९ मा ‘लुज नेटवर्क’को रुपमा स्थापित इन्द्रेणी अपाङ्गता नेपाल २०२२ मा भने औपचारिक रुपमा दर्ता भएर संस्थागत रुपबाट अघि बढेको छ ।
सम्पर्क इमेल : [email protected]