अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल नर्सिङ संघद्धारा प्रभातफेरी कार्यक्रमको आयोजना (फोटो फिचर)

काठमाडौँ, २८ बैशाख ।  नेपाल नर्सिङ संघ केन्द्रीय कार्यसमितिको अगुवाईमा आज काठमाडौँमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा संघले एक दिन अघि नै प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो ।

खासमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइन्छ । सन् १९७४ को जनावरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो ।

भोली मे १२ तारिखको दिन बुद्धजयन्त्ती, उभौली पर्व भएको र नेपाल सरकारले सार्वजनिक विदा घोषणा गरेका कारण संघले यसपटक एक दिन अघि नै अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाएको स्पष्ट पारेको छ ।

प्रभातफेरी कार्यक्रम विहान ७ बजे माइतीघर, सिंहदरबार, पद्मोदयमोड, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै भृकुटीमण्डप पुगी कोण सभामा परिणत भएको थियो ।

सो अवसरमा बोल्दै नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्राध्यापक तारा पोखरेलले नेपालमा बिरामीको उपचारका लागि नर्सको भूमिका मेरुदण्डकै रुपमा रहने गरे पनि उचित श्रम र सम्मान हुन नसकेको गुनासो गरिन् । उनले नर्सको दरबन्दी बढाउन र उचित पारिश्रमिकको व्यवस्था गर्न सरकारलाई तथा निजी क्षेत्रलाई समेत आग्रह गरिन् ।
नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले नर्सिङ क्षेत्रलाई राज्यले उपेक्षा गरेको, नर्सिङ जनशक्ति श्रम शोषणमा परेको भन्दै हक अधिकारका लागि एकजुट हुुुनुपर्ने बताईन् । उनले नर्सिङ संघले पछिल्लो पटक निजी क्षेत्रको नेपालगञ्ज मेडिकल कलेज, सरकारी तर्फ निजामती अस्पतालमा कार्यरत नर्सहरुमा देखा परेको समस्या समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको बताईन् । बिरामीको उपचार गर्ने नर्स शारीरिक मानसिक रुपमा स्वस्थ संगै आर्थिक रुपमा समेत सन्तुष्ठ हुनुपर्ने भन्दै श्रमशोषण गर्ने परिपाटिको अन्त्य हुनुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा संघकी महासचिव सहप्राध्यापक देवका आचार्यले नर्सिङ हक हितको लागि सबै नर्स एकीकृत ढंगले आवाज उठाउनु पर्ने बताईन् ।

अन्तराष्ट्रिय नर्सिङ दिवसको यसपटकको नारा ‘हाम्रा नर्सहरू, हाम्रो भविष्य : नर्सहरूको हेरचाहले अर्थतन्त्रलाई बलियो बनाउँछ,’ भन्ने रहेको छ ।

प्रभातफेरी कार्मक्रममा नर्स, तथा नर्सिङ पढ्दै गरेका विद्यार्थीहरुले विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *