झापामा भेटिए ६६ नयाँ कुष्ठरोगीका बिरामी

52
Shares

झापा, २० माघ । झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा यी नयाँ बिरामी फेला परेका हुन्।

आर्थिक वर्ष २०७९/८० मा एक सय ६० तथा आव २०८०/८१ मा एक सय २२ नयाँ कुष्ठरोगी फेला परेका थिए।

जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन्।

कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक–एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच–पाँच नयाँ बिरामी फेला परेको दासले जानकारी दिए।

यस्तै, झापा गाउँपालिका र बाह्रदशीमा दुई–दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेको पनि उनले बताए।

हात्तीपाइले संक्रमण उच्च

जिल्लामा हात्तीपाइले रोगको सङ्क्रमण समेत उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताए। जिल्लामा हाल हात्तीपाइले रोगीको संख्या करिब दुई हजार दुई सय रहेको उनले जानकारी दिएका छन्।

प्रादेशिक अस्पताल भद्रपुर र दमक अस्पतालमा हात्तीपाइले रोगको निःशुल्क उपचार हुँदै आएको छ। प्रादेशिक अस्पताल भद्रपुरका डा. सुजन काफ्लेले आर्थिक वर्ष २०७९/८० देखि अस्पतालमा हात्तीपाइले रोगको उपचारका लागि छुट्टै बहिरङ्ग (ओपिडी) सेवा सुरु भएको बताए।

‘हात्तीपाइले रोगको उपचारका लागि सरकारले वार्षिक दुई लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ’, उनले भने, ‘बिरामीलाई यातायात खर्च दिन्छौँ, तर रकम पर्याप्त हुँदैन। विपन्न वर्गका धेरै बिरामी छन्, आर्थिक अभावले उनीहरू उपचार गराउन आउँदैनन्।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *