कुन कुन देशमा धूमपान गर्न पाइँदैन ?

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हाल विश्वका १५१ देशमा ‘इन्डोर पब्लिक प्लेस’ मा धूमपान निषेध गर्ने कानुन छन्।
ती कानुनले प्रत्येक १० जनामध्ये सात जनालाई अरूले गर्ने धूमपानको असरबाट जोगाएको डब्लुएचओको भनाइ छ।
सन् २००४ मा कार्यालय, रेस्टुराँ र सार्वजनिक यातायातजस्ता ‘पब्लिक प्लेस’मा धूमपानमा प्रतिबन्ध लगाउने विश्वको पहिलो देश आयरल्यान्ड बन्यो।
त्यसयता युरोपेली सङ्घ (ईयू) का १३ देशले सोही प्रकृतिका कानुन पारित गरे।
यद्यपि ईयूका अनुसार उसका कतिपय सदस्य राष्ट्रले धूमपानिरुद्ध कडाइका साथ कानुनको कार्यान्वयन गराएका छैनन्।
दक्षिण अमेरिकाका सबै देशमा अहिले धूमपानविरुद्धका कानुन छन्।
सन् २००६ मा उरुग्वेले सबै ‘इन्डोर पब्लिक प्लेस’ मा र अस्पताल तथा विद्यालयआसपास धूमपान गर्न प्रतिबन्ध लगायो।
धूमपानविरुद्ध राष्ट्रिय कानुन ल्याउने उक्त महादेशको सबैभन्दा अन्तिम देश पारग्वे हो।
सन् २०२० यता त्यहाँका मानिसहरू निश्चित स्थान, भिडभाड नहुने र ‘आउट्डोर स्पेस’ वा खुला ठाउँमा मात्र सुर्तीजन्य उत्पादन सेवन गर्न पाउँछन्।
सन् २०२३ मा मेक्सिकोले धूमपानविरुद्ध संसारकै सबैभन्दा कडा कानुन ल्याएको छ।
उक्त कानुन अनुसार पार्क, समुद्री तट, होटल, कार्यालय तथा रेस्टुराँलगायतका सार्वजनिक स्थलमा धूमपान गर्न पाइँदैन।
यसको अर्थ मेक्सिकोका मानिसहरूले निजी घरबाहेक अन्यत्र धूमपान गर्न सक्दैनन्।
क्यानडामा सन् २०२४ को जुलाईबाट सुर्तीजन्य वस्तु उत्पादकहरूले प्रत्येक चुरोटमा स्वास्थ्यसम्बन्धी चेतावनी राख्नुपर्ने हुन्छ।
प्यान(अमेरिकन हेल्थ अर्गनाइजेशन)का अनुसार अमेरिकी देशहरूमा धूमपान अथवा धूमपान गर्नेहरूको वरिपरि सास फेरेकै कारणबाट बर्सेनि करिब दश लाख जनाको मृत्यु हुने गरेको छ।
डब्लुएचओले किन युवाहरूलाई लक्ष्य गरिरहेको छ ?
डब्लुएचओका अनुसार सन् २०२२ को तथ्याङ्कले देखाएबमोजिम विश्वभरि १३ देखि १५ वर्ष उमेरका कम्तीमा तीन करोड ७० लाख युवा कुनै न कुनै सुर्तीजन्य उत्पादनका अम्मली छन्।
युरोपमा १३ देखि १५ वर्ष उमेरका ११।५ प्रतिशत किशोर र १०।१ प्रतिशत किशोरी सुर्तीजन्य उत्पादन सेवन गर्ने डब्ल्यूएचओले जनाएको छ।
विद्युतीय चुरोट र निकोटीन पाउचहरू खास गरी युवामाझ लोकप्रिय रहेको पाइएको डब्ल्यूएचओले जनाएको छ।
उसको अनुमान अनुसार सन् २०२२ मा युरोपमा १२।५ प्रतिशत युवाले र २ प्रतिशत वयस्कले ई-चुरोट वा भेप सेवन गर्छन्।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com





नेपाली हेल्थ 

