बिचार :

न्याम्स र वीर : न मिल्छ अहिले छुटिन, न मिल्छ अहिले एमबीबीएस चलाउन

– प्राडा गणेश गुरुङ

पहिलो कुरा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को जन्म कसरी भयो भन्ने कुरा बुझ्न जरुरी छ । इतिहासलाई हामीले कहिले पनि विर्सनु हुँदैन ।

‘कन्सोर्डियम कन्सेप्ट’को आधारमा न्याम्सलाई हामीले वीर अस्पताल लगायत नेपाल सरकारका केन्द्रीय अस्पतालहरु र विशेषज्ञ अस्पतालहरुमा न्याम्सको कार्यक्रम शिक्षण सिकाईका लागि प्रयोग गर्ने भन्ने प्रावधान ऐनमा रहेको छ ।

त्यहि अन्तगर्त नै अहिले वीर अस्पताल, गंगालाल, कान्ति बाल, परोपकार प्रसूतिगृह, पाटनको मानसिक अस्पताल, टेकुको शहीद शुक्रराज ट्रोपिकल लगायतमा न्याम्सका कार्यक्रम सञ्चालन भइरहेको छ ।

कन्सोर्डियम कन्सेप्ट भनेको नेपाल सरकारको थुप्रै अस्पतालहरुको समूह (ग्रुप अफ गभरमेन्ट हस्पिटल्स)लाई एउटा एकेडेमिया बडीको रुपमा न्याम्सले सञ्चालन गर्ने भन्ने हो ।

अब यो कसरी स्थापना भयो ? कुनै बेला यस्तो अवस्था आयो कि हाम्रो देशमा विशेषज्ञ चिकित्सकहरुको ठूलो ग्याप रहयो । यता एमबीबीएस डाक्टरहरु उत्पादन भइ रहयो तर विशेषज्ञ हुने क्रम कम देखिने अवस्था भयो ।

पहिले पहिले नेपाल सरकारले कोलम्बो प्लान अन्तर्गत विदेशमा चिकित्सकहरु पठाई विशेषज्ञ बनाएर ल्याउँथ्यो तर बीचको दश पन्ध्र बर्ष ग्याप देखियो । त्यसैले नेपालमै विशेषज्ञ चिकित्सक उत्पादन गर्न थालौँ भन्ने योजनाका साथ न्याम्स जन्माइएको हो ।

न्याम्सले पहिले त्रिवि अन्तर्गत रहेर कार्यक्रम सञ्चालन गर्दथ्यो । पछि आएर न्याम्समा हामीले कन्भर्ट  गरयौँ ।

यो स्थापना गर्ने श्रेय स्वर्गीय प्राडा उपेन्द्र देवकोटालाई जान्छ । उहाँ तत्कालीन समयमा स्वास्थ्य मन्त्री रहेका बेला यसलाई मन्त्रिपरिषद्बाट पास गराई न्याम्स स्थापना भएको हो ।

म उपकुलपति हुँदाको बखतमा यसलाई अझ के गर्ने प्रयास भयो भने नेपाल सरकारको ५०० बेड तथा ३०० बेडका अस्पतालहरुमा जो  जिल्ला, क्षेत्रीय, उपक्षेत्रीय अस्पतालहरु जो सरकारबाट सञ्चालित छन् अरुले फाइदा लियो तर सरकार आफैले गर्न सकेन भन्ने निस्कर्षका साथ न्याम्सले यस्ता ठूला अस्पतालमा आफ्ना कार्यक्रम सञ्चालन गर्ने भन्ने योजना बनेको हो ।

त्यसपछि विस्तारित न्याम्स भनेर हामीले कन्सेप्ट निकाल्यौँ ।

त्यसमा न्याम्स एउटा एपेक्स युनिभर्सिटीको रुपमा रहन्छ र वीर सहित सबै संघीय अस्पतालहरु आंगिक क्याम्पसको रुपमा सञ्चालन हुने भन्ने छ । अनुगमन, मूल्यांकन तथा परीक्षा लिने काम मात्रै न्याम्सको हुने छ भन्ने प्रारुप समेत तयार गरेका थियौँ । यसै अनुरुप यसलाई २०७३ सालमा हाम्रो चोपलाल भुसाल अध्यक्ष रहेका बेला मन्त्रालयस्तरको ९ जनाको कमिटि बनेको थियो । उहाँहरुले प्रतिवेदन पनि तयार पारेको छ ।

त्यो अनुसार यसलाई एपेक्स युनिभर्सिटीको रुपमा विकास गर्नुपर्छ भन्ने सुझाव दिइएको थियो ।

त्यसमा धरान, पाटन लिनु परेन । अरु अहिले भएका सबै संघिय अस्पतालहरुलाई लिएर कार्यक्रम चलाउन सकिने भन्ने थियो । सो विषयमा तीन चारण चरण छलफल समेत भएर काम नै अघि बढीसकेको थियो । त्यो भएमा दुई कुरा महत्वपूर्ण हुने थियो । जुन ठाउँमा एकेडिमिया डेभलप भएको , त्यो ठाउँमा गुणस्तरीय सेवा दिन हामी सक्छौँ ।

एउटा संस्थागत रुपमा अपग्रेड हुने भयो अर्को कुरा पठन पाठन कार्यक्रम सञ्चालन गर्नु पर्ने भएकोले सबै सेवा दिन सक्नु पर्ने देखियो । त्यो गुणस्तरीय सेवाका अहिलेकै दर रेटमा जनताहरुले पाउने भए ।

दोस्रो कुरा डाक्टर भनेका जाँचेर औषधि लेख्ने मान्छे मात्रै होइन, विद्धान वर्ग हुन् । उनीरुले बाहिरी मुलुकसंग सम्वन्ध स्थापित गरि व्यक्तित्वको विकास समेत हुने गर्दछ । यो परिकल्पना अनुुसार यो वीर अस्पतालले मात्रै पुग्दैन भनेर दुवाकोटमा जग्गा जमिन खोजेका हौँ ।

अहिले भक्तपुरको दुवाकोटमा झण्डै ५७० रोपनी जग्गा न्याम्सको नाममा रहेको छ । विश्व विद्यालयको परीक्षा केन्द्र, पुस्तकालय, कक्षा कोठाहरु, परीक्षा निरीक्षकहरु आउँदा बस्न मिल्ने गेष्ट हाउस, अनि १५०० बेडको अस्पताल लगायत थुप्रै पूर्वाधार बनाउनु पर्ने छ ।

त्यहाँको सम्पत्ती चाहि अब वीर अस्पतालको हुँदैन । त्यो न्याम्सको नै रहन्छ । र यो पनि नविर्सौ कि न्याम्स पनि स्वास्थ्य मन्त्रालय अन्तर्गतकै संस्था हो ।

अब अहिले न्याम्स र वीर छुट्निे कि नछुट्निे भन्ने कुरा जे जसरी आएको छ । यसमा पनि अहिले खासै चासो दिनु पर्ने भन्ने लाग्दैन ।

किनभने न्याम्सले आफ्नै अस्पताल बनाएको छैन । यो प्रष्ट कुरा हो । वीर अस्पताल नेपाल सरकारको अस्पताल हो । न्याम्सले त्यहि प्रयोग गरेको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको आफ्नो अस्पताल नहुन्जेल सम्म वीर अस्पतालमै हाम्रो अस्पताल हुनेछ भनेर कतै उल्लेख नै छ ।

न्याम्स स्थापना हुने कन्सोर्डियम कन्सेप्ट जो हामी कुरा गरेका छौँ, त्यसले पनि महावौद्धमा रहेको वीर अस्पताल न्याम्स अन्तर्गत भन्दा पनि नेपाल सरकारको अस्पताल हो भनेर मानेको हो ।

त्यसैले न्याम्सले गर्ने कार्यमा मन्त्रालयको स्विकृति हुनुपर्छ । अहिले त्यहाँ जे जति संरचना बन्यो त्यो नेपाल सरकारको हो । यसको मतलव वीर अस्पतालको हो । तर फेरी यो पनि होइन कि अब वीर न्याम्सबाट अलग हुन्छ । न्याम्सको दुवाकोट प्रोजेक्ट अघि नबढ्दासम्म यो छुटिन मिल्दैन ।

मैले माथि नै उल्लेख गरी सकेँ । कि त न्याम्सले आफ्नै घर बनाएर वीर छाड्ने कुरा गर्नु पर्छ । आफ्नै भवन नहुँदासम्म न्याम्सले वीर अस्पताल छाड्दैन अर्थात भवन पनि छाड्दैन । अहिले न्याम्स भाले हुने कि वीर अस्पताल भाले हुने भन्ने विवादले उग्र रुप लिन थालेको छ । यो राम्रो कुरा होईन ।

वीर अस्पतालमा एमबीबीएस कार्यक्रम सञ्चालन हुन्छ ?

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा एमबीबीएस बीडीएस कक्षा सञ्चालन गर्ने चर्चा चलेको छ । पछिल्लो एक वर्ष यता त प्रधानमन्त्री देखि मन्त्रीसम्मले न्याम्सको प्रसंग आउनासाथ यो विषय उठाईहाल्ने गर्नु भएको छ । तर हामीले विषय उठान गर्दै गर्दा त्यसको आधार पनि हेर्नुपर्छ जस्तो लाग्छ । प्रधानमन्त्री मन्त्रीहरुले बोलिदिनु भयो अब हुन्छ भन्ने रुपमा मात्रै हेर्नु हुँदैन जस्तो लाग्छ ।

बास्तवमा म पनि न्याम्सको विस्तार हुनु पर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुँ । एक्सटेन्डेड न्याम्सको परिकल्पनाकारहरु मध्ये म पनि हुँ भन्ने लाग्छ ।

म उपकुलपति हुँदा भक्तपुरको न्याम्सका लागि दुवाकोटमा जग्गा तयार गरेका छौँ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनि सकेको छ । तर निर्माण कार्य सुरु हुन सकेको छैन । एकेडेमिक, हस्पिटल, होस्टल लगायत भवन निर्माण सुरु हुन सकेको छैन ।

यो अवस्थामा आगामी शैक्षिक सत्रबाटै कक्षा सञ्चालन गर्न सकिन्छ जसरी कुरा भइरहेको छ म त्यो देख्दिन ।

दोस्रो महत्वपूर्ण कुरा अहिले नै स्नातक तहका कार्यक्रम एमबीबीएस बीडीएस सञ्चालन गर्न चिकित्सा शिक्षा ऐन २०७५ बाधक देखिन्छ ।

किनभने सो ऐनको दफा १२ मा आशय पत्र प्रदान नगरिने व्यवस्था उल्लेख छ । त्यसको उपदफा २ को १ मा ‘जुनसुकै कुरा लेखिएको भएता पनि यो ऐन प्रारम्भ भएको मितिले १० बर्षसम्म काठमाडौँ उपत्यका भित्र मेडिकल डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना र सञ्चालन गर्न आसय पत्र प्रदान गरिने छैन,’ भनिएको छ ।

एमबीबीएस कार्यक्रम चलाईरहेको नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानले गतवर्ष वीडीएस कार्यक्रम सञ्चालनका लागि माग गर्दा चिकित्सा शिक्षा आयोगले यहि दफा टेकेर नदिएको भनिएको थियो । यो नियम न्याम्सको हकमा पनि लागू हुन्छ भन्ने लाग्छ ।

यस अनुसार कम्तीमा २०८५ सालसम्म एमबीबीएस कार्यक्रम सञ्चालन गर्न पाइदैन । मलाई लाग्छ न्याम्स र सरकारले चाहे पनि आयोगले दिदैन ।

मैले फेरी पनि भने एमबीबीएसका लागि चाहिने आधारभूत पूर्वाधारहरु बेसिक साइन्स भवन, रेसिडेन्सियल फ्यासिलिटीहरु अहिलेको वीर अस्पतालमा छ त ? छैन नि । दुवाकोटमा पनि भवन बनिसकेको छैन । त्यसैले तत्कालै गाह्रो कुरा हो जस्तो लाग्छ ।

बरु मलाई त के लाग्छ भने न्याम्सले अहिले जो उच्च शिक्षा दिएको छ, त्यसलाई अझ गुणस्तरीय बनाउने , अन्तराष्ट्रिय प्रतिस्पर्धी बनाउने, पीजीमा थप विषयहरु ल्याउने र देशका लागि आवश्यक विशेषज्ञहरु तयार गर्नेमा केन्द्रीत हुनुपर्छ ।

एमबीबीएसका लागि अहिले हामी आत्तिई हाल्नु पर्ने अवस्था छैन । तर विशेषज्ञ उत्पादनका लागि थप जोड गर्नु पर्ने आवश्यकता छ । न्याम्स इपिसेन्टर अफ क्वालिटी मेडिकल एजुकेशन भनेर संसारमा चिनिनु पर्छ भन्ने लाग्छ ।

# प्राडा गुरुङ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व उपकुलपति हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “न्याम्स र वीर : न मिल्छ अहिले छुटिन, न मिल्छ अहिले एमबीबीएस चलाउन

  1. प्रा .डा श्रीगणेश गुरुङले राख्नु भएकाे कुरा मेराे िवचारमा सही छ ।
    तर यस सम्व्धमा अादरनीय डा. दिनेश गंगाेलज्यूले नेपालमा कन्सल्टेण्ट डा .उत्पादन गर्न वीरमा शुरु गर्नु भएकाे कुरा विर्सनु हुंदैन ।कतिजनालाई त थाहा पनि नहुन सक्छ नाम्स स्थापना हुनु भन्दा पहिले िवदेशकाे युनिभर्सिटीवाट परीक्षा संचालन हुने गरि वीर अस्पतालमा डाक्टरहरुलाई विभन्न विषयमा पाेष्ट ग्राजुयट गराउनु भएकाे थियाे ।म न्यूराे सर्जिकल वार्डमा स्टाफ नर्स र अर्थाेपेिडक विभागमा नर्सिङ अधिकृत भई काम गरी रहंदा ती विद्यार्थीहरुलाई अध्ययन गर्न वार्डमा एउटा काेठा अध्ययनकाेलागि मिलाई दिन्थ्याै ।
    पछि डा. देवकाेटा स्वास्थ्य मन्त्री हुंदा यसलाई संस्थागत गरेर राम्राे काम गर्नु भयाे ।
    जे हाेस वीर अस्पताल भनेकाे देशकाे राष्ट्ीय गाैरवकाे ईतिहास वाेकेकाे देशकाे पहिलाे अस्पतालकाे संचालन नाम्स अन्तर्गत हुनु भने मेराे सानाे दिमाग र मनले भने मान्न नसक्ने रहेछ । भलै नाम्सले वीर लगायत देशभरीकाे अस्पताल प्रयाेग गरेर स्पेसियालीटि कक्षा संचालन गर्नु देशकाेलागि राम्राे हाे र याे गर्नु पनि पर्छ। तर सिनियर अस्पतालकाेहरूकाे माैलिकता भने कायम राख्नु पर्छ भन्ने लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *