पूर्वखोला बन्यो पूर्ण खोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता पालिका

पाल्पा २१ बेशाख । पूर्वखोला गाउँपालिका पूर्ण खोप र पूर्ण संस्थागत सुत्केरी सुनिश्चितता पालिका घोषणा भएको छ ।
बिहिबार आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले गाउँपालिकालाई पूर्ण खोप र पूर्ण संस्थागत प्रसुती सेवा युक्त स्थानीय तह सुनिश्चितता पालिका घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरे ।
यो गाउँपालिका लुम्बिनी प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिकाको रुपमा परिचित छ ।
६ कात्तिक २०७६ मा पूर्वखोला गाउँपालिका पूर्ण संस्थागत सुत्केरी सुनिश्चित भएको गाउँपालिका भएको थियो ।
यस्तै पाल्पा नेपालकै पहिलो पूर्णखोपयुक्त जिल्ला हो । १२ चैत २०७० मा पाल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुँदा गाउँपालिकाले पूर्ण खोपको मापदण्ड पूरा गरेको थियो । त्यसयता नियमित रुपमा पूर्णखोप सुनिश्चित पालिका हुँदै आएको पूर्वखोलाका शाखा प्रमुख मोहन ढकालले बताए ।
घोषणा कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले पूर्वखोला गाउँपालिकाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा निकै राम्रो काम गरेको बताए । उनले २४ सै घण्टा सुत्केरी सेवा, सुरक्षित गर्भपतन सेवा, जनस्वास्थ्य प्रयोगशालालगाएतका सेवाहरुले नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा पुगेको बताए ।
गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले नागरिकको स्वास्थ्यको क्षेत्रमा पुर्वखोला गाउँपालिकाले प्राथमिकता दिएर काम गरेको बताए । थापाले नागरिकको स्वास्थ्य अवस्था ठिक रहेमात्र अन्य शिक्षा, रोजगार, पर्यटन, कृषिलगाएतका क्षेत्रमा सुधार आउने बताए ।

यो घोषणा संगै पालिका भित्रका २ वर्ष भित्र नियमित बच्चाको स्वास्थ्यलाई ख्यालमा राख्ने सुनौलो १००० दिनको आमाहरु १६० जनालाई पुरस्कृत समेत गरिएको छ । कार्यक्रममा घोषणा गर्न सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संघसंस्थाहरु र सेवा निवृत्त महिला स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ ।
घरधुरी सर्वेक्षणबाट प्रोटोकल अनुसार चार पटक गर्भ जाँच गर्भवती भएका महिलाहरु ९८.८२ प्रतिशत भएको, संस्थागत सुत्केरी १०० प्रतिशत भएको, उत्तर प्रसुती जाँच १०० प्रतिशत भएको, घरमै हुने प्रसुती संख्या शुन्य भएको, फरक स्वास्थ्य संस्थाबाट नमुना घरधुरी सर्वेक्षण गरि मापदण्ड अनुसार सुचकांक भएकोले सुनिश्चितता घोषणा गरिएको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराई, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, गाउँपालिकाका प्रवक्ता मेहरसिंह थापा, वडा नं। ३ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई, राजनैतिक दल र विभिन्न संघ संस्थाका प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

